म २०३८ सालको अन्त्यतिर दिवा कक्षामा आइ.ए. पढ्नका लागि म रत्नराज्यलक्ष्मी क्याम्पस, भृकुटीमण्डप, काठमाडौंमा भर्ना भएको थिएँ । डेरा थियो– अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रहेको स्थानमा अवस्थित घिमिरेबाको घरमा । डेरामा थियौं– स्वर्गीय बेचन अर्थाद उजुरबहादुर बुढाथोकी, जनार्दन र म : तीनजना । (बेचन र जनार्दन मैले एस. एल. सी. दिएकै नारायण माध्यमिक विद्यालय, बयलबास, सर्लाहीमा पढेर आएका ।) पल्लो कोठामा थिए– दुप्चन लामा र दिलिप गौतम । अनि तल्लो तलामा– मुर्धन्य कथाकार मनु व्राजाकी ।
रमाइला थिए दिनहरू !
तर, २०४० साल जेठ २ गते खरिदार पदको स्थायी नियुक्तिपत्र हात परेपछि म क्याम्पसमा रात्रि कक्षामा स्थानान्तरण भएँ ।
रात्रि कक्षा सकेर माइतीघरमा ट्रलीबस भेट्नु पथ्र्यो; अन्यथा हिड्नुको विकल्प थिएन । हिड्ने सवालमा पनि कहिले त एक्लै परिन्थ्यो ।
केही दिन यस्तै तनाव झेलेपछि मलाई बस्दैआएको नयाँ वानेश्वरस्थित डेरा टाढा भयो ।
अनि म बागबजारमा डेरा सरें ।
मसंगै जागिरको नियुक्तिपत्र बुझेको ओखलढुङ्गाको सहकर्मी गोपाल भट्टराईले खोजी दिएको– यो डेरा । बालकृष्ण श्रेष्ठको सडकतर्फको तीनतले घरमा बीचको तलामा पूर्वतर्फको कोठा । बिहान कोठैमा घाम आउँथ्यो ।
गुनासो केही थिएन ।
तर, मेरो तलब थियो— २५५ ।
र, नयाँ डेराको भाडा थियो— १३० ।
मलाई एउटा रुम पार्टनरको सख्त जरुरत पर्यो ।
आर.आर. क्याम्पसमा रात्रि कक्षामा जो पढ्थे; अधिकतर् काम गरेर पढ्थे । कामको क्षेत्र उति बिस्तार भएको थिएन । र, यस प्रसङ्गमा कामको अर्थ निजामति वा संस्थान सेवाको जागिर हुन्थ्यो । पार्वतीरमण दाहाल थियो; जो जोसुकैलाई 'ओई खरिदार!’ भनेर बोलाउने गथ्र्यो । ऊ आफै पनि कुनै मन्त्रालयमा खरिदार थियो । उसको तर्क हुन्थ्यो— ‘सुब्बा हुन प्रवीणता प्रमाणपत्र तह उतीर्ण हुनुपर्छ; अघिकृत हुन स्नातक तह । यो आई. ए. को कक्षामा ती पाइदैनन् । मुखिया पाइएलान्; तर खरिदार भन्दा तिनले मलाई मानहानीको मुद्धा दिदैनन् ।’
मैले यही पार्वतीरमणलाई भनें— ‘मलाई रुम पार्टनर चाहिएको छ ।’ त्यसपछि पार्वतीले जोसंग भेट गरायो; तिनले आफ्नो परिचयमा भनेका थिए— ‘पदमप्रसाद उपाध्याय; घर– संखुवासभा । सञ्चार मन्त्रालयमा काम गर्छु ।’
यिनको पनि इच्छाधिन विषयमा जोग्राफी रहेछ ।
पदमलाई मैले बागबजारको इच्छुमती टोलको तीनतले घरको दोस्रो तलाको उत्तरपूर्वको कोठा देखाएँ ।
भोलिपल्टै यस कोठामा अर्को एउटा खाट थपियो ।
पदम र म यसरी रुम पार्टनर भयौं ।
अनुभवी डेरावालको रबाफमा त्यही दिन पदमले भने— ‘आआफ्ना कपडा आआफूले धुने; आआफ्नो बेड आआफूले मिलाउने; कोठामा जसले कसिङ्गर देख्छ, उसले बडार्ने; खाना बनाउनेले पानी ल्याउने; भाँडा माझ्नेले पानी मिल्काउने; आआफूले खाएको थाल आआफूले माझ्ने । मेसको खर्च आधा—आधा, डेराभाडा आधा—आधा । तिमी भाँडा माझ्ने कि खाना बनाउने ?’
वास्तवमा म यी दुबै कामका लागि अयोग्य थिएँ ।
पदम आउनुअघि एक दिन पकाउँदापकाउँदैको मासुको भाँडो घल्र्याप्प घोप्टिएको थियो र आमा आएकाबखत त्यस घटनाको चस्मदीद साक्षी रहेकी पल्लो कोठाकी यशोदाजीले त्यस प्रसङ्गलाई समेत जोडेर आमासंग मैरै मुखेन्जी मधुर समीक्षाका साथ भन्नु भएको थियो— ‘तपाईंको छोरालाई केही गर्न पनि आउँदैन ।’
यशोदाजीको परिवार त्यही तलाको पूर्व दक्षिणको कोठामा बस्थ्यो । राममणिजीसंग कमै गफगाफ हुन्थ्यो । यशोदाजीको छोरा पवन भने पदमलाई रुम पार्टनर बनाउनुअघि मेरो समय बिताउने आधार थियो ।
दुईमध्ये एक मैले रोज्नै पथ्र्यो । मैले भाँडा माझ्ने काम रोजें ।
पदमका सबै कामहरू नियमबद्ध थिए : पानी ल्याउने, खाना बनाउने, ठीक समयमा खाना पस्किने, कपडा लगाउने र अफिस जाने ।
पदमले खाना पस्किएपछि हाम्रो सक्रिय जम्काभेट हुन्थ्यो ।
अनि, त्यसपछि हामी पाँच बजेतिर आर. आर. क्याम्पसमै भेट्थ्यौं ।
लगभग एक वर्ष हामी रुम पार्टनर रह्यौं । यिनै दिनमा पदमले मेरो एउटा गीत लगेर शम्भु थापालाई दिए । (र, पछि शम्भु थापाले त्यो गीतको सुक्मित गुरुङको स्वरमा रेडियो नेपालमा रेकर्ड गराएछन् ।)
मसंग भाइ (सानु) पढ्न आएपछि हामी अलग भयौं ।
म त्यही कोठामा रहें ।
(यस डेराले मलाई धेरै दियो : गोपाल र अहिलेका चर्चित निबन्धकार माधव काफ्लेसंगको दोस्ती; साहित्यकारितामा गहिरो लगाव; स्वर्गीय कुलचन्द्र भट्टराई र विश्वनाथ भट्टराईसंगको मित्रता; सात बज्दानबज्दै बङ्गाली बाबुको पसलमा हलुवा, पुरी र तरकारी लुड्याउने लत । ... बागबजारको माथिल्लो सडकबाट तल्लो सडकमा झर्नु पर्दा सडकका अनेक विकल्पमध्ये म अझै इच्छुमती टोलको त्यही सडक रोज्छु; मलाई त्यो घरको अझै चासो छ ।)
रुम पार्टनरको अवस्थाबाट अलग भएपछि हाम्रो आआफ्नै दिशामा आआफ्ना दौड सुरु भए ।
२०५० सालमा पदमसंग गाइघाटमा भेट भयो । मेरो ससुराल नजिकै रहेछ– उनको डेरा । उनले पनि बिहे गरेछन् ।
२०५२ सालमा पदम आफ्नी आमालाई लिएर जनकपुरस्थित मेरो डेरामा आए । “आमालाई जनकपुर घुमाउन ल्याएको । होटलमा खाने गर्नु भएकै छैन । कति फुक्लो चिउरा मात्र खुबाउनु! आज चै भात पकाएरै ख्वाउनु पर्यो भनेर सोध्दैखोज्दै आएँ ।" उनले भने ।
त्यसको केही समयपछि पदमले गाइघाट पनि छाडेछन् ।
पछि मैले निजामती प्रकृतिको जागिर छाडें र प्राध्यापनतर्फ आएँ ।
उनले ३७ वर्ष निजामति सेवामै बिताएछन् ।
फेसबुक चलाउन थालेपछि मैले पटकपटक पदमलाई खोजें । परिचयका क्रममा कसैले ‘मेरो घर संखुवासभा हो’ भन्यो भने मेरो ध्यान पदमका बारेमा केही जानकारी खुल्छ कि भन्नेतिर जान्थ्यो । म केही भूमिका जस्तै बाँधेर भन्थें– “मेरो एउटा निकटको साथी छ– संखुवासभाको । अहिले हामीले बोक्ने गरेको मोबाइल र चलाउने गरेको फेसबुक आउनुअघि नै हामी छुट्टियौं । उसको नाम, थर र दाजुभाइको संख्या मलाई थाहा छ । दाजुभाइका बीचमा उसको क्रम पनि सम्झेको छु । लेखापाल थियो, पछि पनि लेखामै काम गर्यो होला । संखवासभाको 'वाना' भन्ने ठाउँ हो– उसको घर । चिन्नुहुन्छ ?"
'चिन्छु’ भन्ने कोही भेटिएन ।
फेसबुकमा पनि कम्ती खोजिनँ ।
कताकताबाट राजेन्द्र दाजुको सम्पर्कमा पुगेछन्– पदम । उहाँबाटै मैले पाएँ– पदमको फोन नम्बर । अनि त के चाहियोस्!
यी काठमाण्डौ आउँदैछन् भन्ने जानकारीले मलाई उत्ताउलो बनाएकै थियो; मैले पदमलाई घरमा लिएर आएँ ।
हिजो भन्दैथिए— पदमले पनि मलाई कम्ती खोजेनछन् ।
यसरी हामी दुबै एकअर्काको खोजीमा थियौं । हामीले एकअर्कालाई चिन्ने मान्छेधरि भेटेका थिएनौं । पदमले पहिले भेटे ।
यसमा पनि पदमले मलाई जितेका छन् ।
पदम उस्तै छन् : उस्तै सजिलोसंग हाँस्छन् र हाँस्दा धक फुकाएर मज्जासंग हाँस्छन् । कतै भेट भएको भए मैले पदमलाई परैबाट नचिन्नु पर्नेगरी समयले उनको अनुहार कोतरेको रहेनछ ।
भेटमा हामीले त्यो डेरा सम्झियौं : बालकृष्णको त्यो तीनतले घरमा माथि बालकृष्ण र उसकी आमा बस्थे; पातलापातला दुई दिदीबहिनीको कोठा पनि माथिल्लै तलामा थियो । निजगढका बच्चुराम अधिकारी पनि माथिल्लो तलामै डेरा गर्थे । बीचको तलामा त कसले के तरकारी पकाउँछ र कसले कुन तरकारी मिठो पार्छ; को तास खेल्न साँच्चै सिपालु छ र को लद्दु छ; को कुन विषयमा ढङ्ग मिलाएर गफ गर्छ र कसको रुचिको क्षेत्र कुन हो भन्नेसम्मका विवरण हामी सबैसंग थियो । यस तलाका हामी सिनेमा हेर्न पनि संगै जान्थ्यौं र साग/तरकारी किन्न पनि ।
कुरा सकिएकै थिएनन्; पदमले उठ्ने तरखर देखाए ।
दुइटी छोरी र एउटा छोरा उनका । छोरालाई भोलि युरोप उडाउनु रहेछ । त्यसको तयारी चल्दै रहेछ । “केही किनमेल र काम अझै बाँकी छ ।" पदमले भने ।
र, उठे ।
विदामा मैले भनें- 'हाम्रा कुराकानी बाँकी नै छन्; हामी फेरि चाडै भेट्नु पर्छ ।'
(बोझेपोखरी, ललितपुर)









