बर्दिवास, महोत्तरी । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–५ डोठाराका मुसहरले सामाजिक विकासमा र परिवर्तनमा चासो दिन थालेका छन् ।
आफ्नो मालिकले अह्राएको काम गरेर पाएको बनी (पारिश्रमिक) बाट दुईछाक टार्नबाहेक कुनै कुरामा चासो नराख्ने मुसहरले अब भने शिक्षा, स्वास्थ्य र अन्य सामाजिक विकासमा चासो राख्न थालेका हुन् ।
शिक्षा, स्वास्थ्य र विभिन्न अवसरबाट पछि परेका यो बस्तीका मुसहरले नेपाल रेडक्रश सोसाइटी महोत्तरी शाखाको सहयोगले बालबालिकालाई पढाउन थालेका छन् । यहाँका मुसहरले अब घरघरमा धमाधम चर्पी बनाउन थालेका छन् ।
‘बिहान कमाएर (बनी गरेर) ल्यायो, बेलुका भुटेर खायो’ उखानका पात्र मानिने मुसहर अतिरिक्त कमाउने, सञ्चय गर्ने, आफ्नो अधिकार खोज्ने वा कुनै गुनासो गर्ने कुरामा पुरै बेखबर रहने जातिका रुपमा परिचित छन् । खेती मजदूरी (कृषि मजदूरी) गुजाराको मुख्य पेशा रहेको यो जाति अब नियमित राजनीतिक प्रशिक्षण, सामाजिक सङ्घ संस्थाको लगातारको प्रयत्न र चासोले सार्वजनिक मञ्चमा देखिन थालेका लोहारपट्टी नै घर भएका प्रदेशसभा सदस्य जानकीशरण साह बताउंछन् ।
पछिल्लो चरणमा रेडक्रश महोत्तरी शाखाले यो बस्तीमा नियमित नेतृत्व विकास, जीविकोपार्जन र खानेपानी एवं सरसफाइका लागि विशेष तालीम सञ्चालन गरेको छ । गत वर्षको बर्खे भेलले बस्ने र खाने ठाउँ गुमाएका मुसहरका १२६ जना बालबालिकालाई रेडक्रश महोत्तरी शाखाले शैक्षिक सामग्री दिएको छ । मुसहर बालबालिका काँधमा कापीकलमसहितको झोला भिर्न पाएपछि दङ्ग पर्दै नियमित बिद्यालय जान थालेका छन् ।
कृषि कार्यको मजदूरी गर्ने मुसहरलाई रेडक्रशले आयआर्जनका सानातिना काम सञ्चालन गर्न १८० परिवारलाई रु १५ हजार रकम सहयोग गरेको छ । यो रकमबाट मुसहर महिलाले काँसका डाली बुन्ने, सानो किराना पसल चलाउने र केही युवाले चनाचटपटे बनाएर बेच्ने गरेका र केहीले बाख्रापालन गर्न थालेका छन् । यो सहयोग सानो भए पनि मुसहरलाई वैकल्पिक रोजगारी खोज्न भने सहयोगी बनेको छ । रेडक्रशको सहयोगले अब भने हामी पनि यसै समाजका रहेछौँ भन्ने लाग्न थालेको लोहारपट्टीकै मुसहर समुदायका अगुवा शिव सादाले बताए ।
जिल्लामा ३३ हजारको हाराहारी जनसङ्ख्या रहेको मुसहर समुदाय शिक्षामा निकै पछि छ । यो समुदायबाट अहिलेसम्म एससीइई उत्तीर्ण गरेकाको सङ्ख्या १५ ननाघेको शिक्षा विकास समन्वय एकाइ महोत्तरीले जनाएको छ । तर सामाजिक सङ्घसंस्था, राजनीतिक दल, स्थानीय तह र अन्य सम्बद्ध तहले थालेका निरन्तरको प्रयत्नले यसपालि भने मुसहर समुदायका झण्डै दुई हजार बालबालिका विद्यालय भर्ना भएका एकाइ प्रमुख सत्रुधन यादवको भनाइ छ ।