• २०८३ बैशाख २१ सोमबार

ओपेक प्लस देशको तेल उत्पादनको कोटा बढाउने निर्णय

ओपेक प्लस देशको तेल उत्पादनको कोटा बढाउने निर्णय

काठमाडौँ । साउदी अरेबिया, रुस र ओपेक प्लस समूहका अन्य पाँच सदस्य देशहरूले तेल उत्पादनको कोटा बढाउने निर्णय गरेका छन् ।

यो निर्णय संयुक्त अरब इमिरेट्स (युएई) ले अचानक ओपेकबाट बाहिरिने घोषणा गरेपछि गठबन्धनको निरन्तरता र स्थायित्व कायम राख्ने उद्देश्यले लिइएको बताइएको छ ।

रिपोर्टका अनुसार सात प्रमुख तेल उत्पादक देशहरूले आगामी जुन महिनादेखि दैनिक १ लाख ८८ हजार ब्यारेल तेल उत्पादन बढाउने घोषणा गरेका छन् । ओपेक प्लसले जारी गरेको वक्तव्यमा मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्यमा दबाब परेको अवस्थामा बजार स्थिरता कायम राख्न सामूहिक प्रतिबद्धताअन्तर्गत यो कदम चालिएको उल्लेख गरिएको छ ।

अल्जेरिया, इराक, काजाखस्तान, कुवेत, ओमान, रुस र साउदी अरेबियाबीच भएको अनलाइन बैठकपछि जारी वक्तव्यमा संयुक्त अरब इमिरेट्सको उल्लेख गरिएको छैन ।

तेल बजारका विश्लेषकहरूले यसअघि नै उत्पादन बढ्ने अनुमान गरेका थिए। यो वृद्धि मार्च र अप्रिलमा घोषणा गरिएको दैनिक २ लाख ६ हजार ब्यारेल उत्पादन वृद्धिसँग करिब बराबर मानिएको छ । अमेरिका र इजरायलसँग इरानको युद्धका कारण विश्व इन्धन बजारमा अनिश्चितता बढिरहेका बेला संयुक्त अरब इमिरेट्सले मे १ देखि ओपेकबाट बाहिरिने घोषणा गरेको थियो ।

यससँगै सन् २०१६ मा गठन भएको ओपेक प्लस गठबन्धनबाट पनि उक्त देश अलग भएको छ । ओपेक प्लसमा ओपेकका सदस्य राष्ट्रहरूसँगै अन्य १० देश सहभागी थिए ।

संयुक्त अरब इमिरेट्स बाहिरिनुअघि ओपेक १२ सदस्य राष्ट्रहरूको समूह थियो, जसले प्रमुख तेल उत्पादक देशहरूको संगठनका रूपमा काम गर्दै सदस्य देशका लागि उत्पादन कोटा निर्धारण गर्दै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै