• २०८३ बैशाख २३ बुधबार

बिपी राजमार्ग १२ घण्टा बन्द हुने

बिपी राजमार्ग १२ घण्टा बन्द हुने

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विपद् जोखिम बढ्दै गएपछि बिपी राजमार्ग १२ घण्टा बन्द गर्ने निर्णय गरेको छ ।

प्रि–मनसुन अवधिमै हावाहुरी, चट्याङ, असिना, हिमपातसहित भारी वर्षा भइरहेका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भइरहेको र जुनसुकै बेला विपद् अवस्था सिर्जना हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वैशाख २२ गतेको निर्देशन तथा सिन्धुली र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीबीच भएको समन्वयपछि जिल्ला सुरक्षा समिति सिन्धुलीको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णयअनुसार आज वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म १२ घण्टा सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

साथै वर्षा, रोशी खोलामा आउन सक्ने बाढी तथा मौसमको अवस्थालाई हेरेर आवश्यक परे अन्य समयमा पनि अल्पकालीन रूपमा सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले सो सडकखण्ड प्रयोग गरी यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली, ट्राफिक प्रहरी तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत जानकारी लिन सकिने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै