• २०८३ बैशाख २३ बुधबार

चुनाव हारेपछि ममता बेनर्जी भन्छिन्- राजीनामा दिन्न

चुनाव हारेपछि ममता बेनर्जी भन्छिन्- राजीनामा दिन्न

काठमाडौँ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफू राजीनामा नदिने स्पष्ट पारेकी छन् ।

निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पत्रकारहरुले राजीनामाको लागि लोकभवन कति बेला जाने भन्ने प्रश्नको जवाफ दिदै आफुले राजीनामा नदिने बताएकी हुन् । उनले भनिन्- 'म किन जाने ? हामीले हारेको भए पो जाने, यदि म जितेको भए, म शपथ ग्रहण अघि नै राजीनामा दिने थिए । लोकभवन जाने प्रश्न नै आउने थिएन । चोरी गरेर जितेपछि उनीहरुलाई लाग्छ, मैले राजीनामा दिनुपर्छ भने त्यो हुनेवाला छैन ।'

पश्चिम बंगालको निर्वाचन परिणाम सार्वजनिक भएपछि राजनीतिक माहोल तातेको छ । तृणमूल कांग्रेसकी प्रमुख बनर्जीले निर्वाचन प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाउँदै प्रशासनिक स्तरमै अनियमितता भएको आरोप लगाएकी छन् । उनले आफूहरू पराजित नभएको दाबी गर्दै जबर्जस्ती हराइएको बताइन् । उनले निर्वाचन आयोगसँग मिलेमतो गरेर विपक्षी दल विजयी भएको आरोपसमेत लगाइन् ।

तृणमूल कांग्रेसले निर्वाचन परिणामको समीक्षा गर्न १० सदस्यीय टोली गठन गरेको छ । उक्त टोलीले हारका कारण र भनिएका अनियमितताबारे छानबिन गर्ने जनाइएको छ । बनर्जीले निर्वाचन आयोगको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । उनका अनुसार आयोगले जनताको संवैधानिक अधिकार संरक्षण गर्न नसकेको आरोप छ । मतदानपछि मतदान मेसिनमा उच्च मात्रामा चार्ज रहनु शंकास्पद भएको उनले उल्लेख गरिन् ।

उनले निर्वाचनअघि आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको, विभिन्न स्थानमा छापा मारिएको र प्रशासनिक अधिकारीहरू परिवर्तन गरिएको आरोप लगाइन् । साथै सत्तापक्ष र निर्वाचन आयोगबीच मिलेमतो भएको दाबी गर्दै सम्पूर्ण राज्य संयन्त्र आफूहरूको विरुद्ध प्रयोग गरिएको बताइन् ।

मतगणनाका क्रममा पनि दुर्व्यवहार भएको आरोप लगाउँदै उनले आफ्ना प्रतिनिधिलाई गणना कक्षमा प्रवेश गर्न नदिइएको र कुटपिट गरिएको बताइन् । सुरक्षाकर्मी र बाहिरी व्यक्तिहरूले आक्रमण गरेको दाबी गर्दै आफूलाई समेत धक्का दिइएको र शारीरिक दुर्व्यवहार भएको उनले उल्लेख गरिन् । बनर्जीले यस्तो प्रकारको निर्वाचन जीवनमै पहिलोपटक देखेको बताउँदै आफ्नो पार्टीलाई योजनाबद्ध रूपमा पराजित गराइएको दोहोर्‍याइन् । साथै अब आफू साधारण नागरिकका रूपमा स्वतन्त्र रूपमा आवाज उठाउने उनले बताइन् ।

सोमबार सम्पन्न मतगणनामा २९४ सदस्यीय बिधान सभामा भाजपाले २०७ सिट जितेको छ भने तृणमूल कांग्रेसले केवल ८० सिट मात्र जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै