काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हन्ता भाइरस संक्रमणलाई लिएर १२ देशलाई सतर्क गराएको छ । दक्षिण एटलान्टिक महासागरस्थित बेलायती क्षेत्र सेन्ट हेलेनामा रहेको ‘एमभी होन्डियस’ नामक क्रुज जहाजसँग सम्बन्धित संक्रमण फैलिएपछि डब्ल्यूएचओले बिहीबार अलर्ट जारी गरेको हो ।
डब्ल्यूएचओका अनुसार हालसम्म हन्ता भाइरससँग सम्बन्धित पाँच वटा संक्रमण पुष्टि भएका छन् भने थप तीन जनामा संक्रमणको आशंका गरिएको छ । गम्भीर श्वासप्रश्वाससम्बन्धी कुल आठ बिरामी फेला परेका छन्, जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ । पुष्टि भएका पाँच जनामा एन्डिज भाइरस संक्रमण देखिएको जनाइएको छ ।
डब्ल्यूएचओले यात्रा क्रममा क्रुज जहाजबाट ओर्लिएका यात्रु रहेका १२ देशलाई औपचारिक रूपमा जानकारी गराएको छ । ती देशमा क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, सेन्ट किट्स एन्ड नेभिस, सिङ्गापुर, स्विडेन, स्विट्जरल्यान्ड, टर्की, बेलायत र संयुक्त राज्य अमेरिका रहेका छन् ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस एडनोम घेब्रेयेससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक स्वास्थ्यसम्बन्धी कदम छिटो र प्रभावकारी रूपमा लागू गरिए संक्रमण सीमित दायरामै रहने आशा व्यक्त गरेका छन् । तर विभिन्न देशमा यात्रु तथा उनीहरूको सम्पर्कमा आएका व्यक्तिको परीक्षण जारी रहेकाले थप संक्रमित फेला पर्न सक्ने चेतावनी समेत उनले दिएका छन् ।
डब्ल्यूएचओले अर्जेन्टिनाका प्रयोगशालाबाट करिब दुई हजार पाँच सय हन्ता भाइरस परीक्षण किट पाँच देशमा पठाइँदै गरेको जनाएको छ । ‘एमभी होन्डियस’ जहाज सञ्चालन गर्ने डच कम्पनीले जहाजमा २३ देशका १४९ जना रहेको जानकारी दिएको छ ।
यसैबीच, जहाजबाट अलग गरिएको दुई जना शंकास्पद हन्ता भाइरस संक्रमित स्पेनको क्यानरी द्वीपसमूहमा रहेको ग्राउन्डेड एयर एम्बुलेन्समै राखिएको जनाइएको छ ।









