काठमाडौँ । तीन पटकको विजेता कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग २०२६ को सुरुआत निकै निराशाजनक बनाएको थियो । पहिलो ६ खेलसम्म जित निकाल्न नसकेको टोलीमाथि सुरुमै प्रतियोगिताबाट बाहिरिने खतरा बढेको थियो । तर कप्तान अजिन्क्य रहाणेको नेतृत्वमा टोलीले शानदार पुनरागमन गरेको छ । लगातार चार खेल जितेको कोलकाताले शुक्रबार दिल्ली क्यापिटल्सलाई आठ विकेटले हराउँदै अन्तिम चार पुग्ने सम्भावना जीवित राखेको हो ।
यससँगै अंक तालिकामा पनि रोचक प्रतिस्पर्धा देखिएको छ । सनराइजर्स हैदराबाद ११ खेलबाट सात जितसहित १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पञ्जाब किंग्स १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी रोयल च्यालेन्जर्स बेङ्गलुरु, राजस्थान रोयल्स र गुजरात टाइटन्स समान १२ अंकसहित क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा रहेका छन् । चेन्नई सुपर किंग्स १० अंकसहित छैटौँ स्थानमा छ ।
दिल्लीमाथिको जितपछि कोलकाता सातौँ स्थानमा उक्लिएको छ । टोलीले १० खेलमा चार जित हासिल गरेको छ भने एक खेल रद्द हुँदा प्राप्त एक अंकसहित कुल नौ अंक बनाएको छ । पराजित दिल्ली भने ११ खेलबाट आठ अंकसहित आठौँ स्थानमा झरेको छ । मुम्बई इन्डियन्स र लखनउ सुपर जायन्ट्स समान छ अंकसहित क्रमशः नवौँ र दशौँ स्थानमा रहेका छन् ।
सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा भने कुनै परिवर्तन भएको छैन । हैदराबादका हेनरिक क्लासेनले ११ खेलमा ४९४ रन बनाउँदै शीर्ष स्थान कायम राखेका छन् । त्यस्तै बेङ्गलुरुका भुवनेश्वर कुमारले १० खेलमा १७ विकेट लिएर अग्रता जोगाएका छन् ।
अब कोलकाताका लागि बाँकी खेल ‘गर या मर’ को अवस्थामा पुगेका छन् । टोलीले बाँकी चारै खेल जित्न सके थप आठ अंक जोड्दै १४ खेलबाट १७ अंक पुर्याउनेछ, जसले अन्तिम चार पुग्ने सम्भावना बलियो बनाउनेछ । तर अबको एक हारले पनि टोलीको यात्रा लगभग समाप्त हुन सक्छ । कोलकाताले अब मे १३ मा रायपुरमा बेङ्गलुरुसँग खेल्नेछ । उता दिल्लीको अन्तिम चार पुग्ने सम्भावना भने लगभग समाप्त भएको मानिएको छ ।
त्यस्तै दिल्ली, मुम्बई र लखनउको प्लेअफको सम्भावना भने करिब करिब सकिएको छ ।









