• २०८३ बैशाख २७ आइतबार

बलिवुड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको उद्घाटन समारोहमा प्रस्तुति दिने

बलिवुड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको उद्घाटन समारोहमा प्रस्तुति दिने

काठमाडौँ । बलिवुड अभिनेत्री नोरा फतेही फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा प्रस्तुति दिने पहिलो बलिउड अभिनेत्री बन्ने भएकी छन् । उक्त समारोह जुन १२ मा क्यानडाको टोरन्टोस्थित बिएमओ मैदानमा आयोजना हुनेछ ।

यसअघि नोरा फतेहीले फिफा विश्वकप २०२२ को समापन समारोह तथा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् पुरुष टी- २० विश्वकप २०२६ को उद्घाटन समारोहमा पनि प्रस्तुति दिएकी थिइन् । अब उनी फुटबल र क्रिकेट दुवै विश्वकपको उद्घाटन समारोहमा प्रस्तुति दिने पहिलो तथा एकमात्र बलिउड कलाकार बन्ने छिन् ।

फिफा विश्वकप २०२६ अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । त्यसैले फिफाले प्रत्येक आयोजक राष्ट्रको पहिलो खेलअघि तीन फरक उद्घाटन समारोह आयोजना गर्ने योजना बनाएको छ ।

क्यानडामा हुने समारोहमा बङ्गलादेशी मूलका अमेरिकी डिजे सञ्जयले पनि प्रस्तुति दिनेछन् । उनले सन् २०११ मा बलिउड चलचित्र ‘रा.वन’ को चर्चित गीत ‘छम्मक छल्लो’ को आधिकारिक पुनःसंयोजन तयार गरेका थिए ।

नोरा र सञ्जयसँगै कार्यक्रममा माइकल बुब्ले, एलानिस मोरिसेट, एलेसिया कारा, एलियाना, जेसी रेयेज, वेजिड्रिम तथा विलियम प्रिन्सलगायत कलाकारको पनि प्रस्तुति रहनेछ ।

यस्तै गायिका केटी पेरीले अमेरिकामा हुने उद्घाटन समारोहमा प्रस्तुति दिने भएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जुन १२ मा अमेरिकाको लस एन्जलसमा हुने समारोहमा सहभागी हुने जानकारी दिएकी हुन् ।

यो कार्यक्रम क्यालिफोर्नियास्थित सोफी रंगशालामा हुनेछ, जहाँ अमेरिका र पाराग्वेबीच खेल हुनेछ । उद्घाटन समारोहमा केटी पेरीसँगै लिसा, टायला, अनिता र रेमाले पनि प्रस्तुति दिनेछन् ।

जुन ११ मा मेक्सिको सिटीमा हुने अर्को उद्घाटन समारोहमा टायला, अलेजान्द्रो फर्नान्डेज, ड्यानी ओसन, लिला डाउन्स, बेलिन्डा, जे बाल्भिन तथा लस एन्जेलिस अजुल्स र माना समूहको प्रस्तुति रहनेछ ।

यसैबीच गायिका शकिराले पनि फिफा विश्वकप २०२६ का लागि नयाँ गीत ‘दाई दाई’ सार्वजनिक गर्ने घोषणा गरेकी छन् । उक्त गीतमा नाइजेरियाली गायक बर्ना ब्वाय पनि सहभागी छन् । शकिराको सन् २०१० विश्वकपको गीत ‘वाका वाका’ विश्वभर निकै चर्चित बनेको थियो ।

फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछन् । पहिलो खेल मेक्सिको सिटीमा हुनेछ भने फाइनल खेल अमेरिकाको न्यु जर्सीमा आयोजना गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै