काठमाडौँ । इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा फ्रान्स र बेलायतका युद्धपोत तैनाथ गरिए तत्काल कडा जवाफ दिने चेतावनी दिएको छ । इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुजको सुरक्षामा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार नगर्ने बताएका हुन् ।
उनले युद्ध होस् वा शान्ति, होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्ने अधिकार केवल इरानसँग रहेको दाबी गरे । कुनै पनि देशले यस क्षेत्रमा हस्तक्षेप गर्न खोजे त्यसको तत्काल र निर्णायक प्रतिकार गरिने उनले चेतावनी दिए ।
इरानका अनुसार फ्रान्स र बेलायतले आफ्ना युद्धपोत क्षेत्रतर्फ पठाउने तयारी गरिरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्रान्सको विमानवाहक युद्धपोत ‘चार्ल्स डी गॉल’ उक्त क्षेत्रतर्फ अघि बढिरहेको छ भने बेलायतले पनि सैन्य उपस्थिति बढाउने संकेत दिएको छ ।
गरीबाबादीले जहाज सुरक्षाको नाममा विदेशी युद्धपोत तैनाथ गर्नु वास्तवमा क्षेत्रलाई थप सैन्यीकृत बनाउने प्रयास भएको आरोप लगाए । उनले अमेरिकाको कदममा साथ दिने देशहरूले पनि त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिन्छ । विश्वको ठूलो परिमाणमा तेल र ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गर्दछ ।









