काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा मर्यादा विपरित क्रियाकलाप गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनको बचाउमा सचिवालय लागेको छ ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्री वालेन्द्र शाहको बचाउ गर्दै फेसबुकमा स्टाटस लेखे पनि केहीबेरमा डिलिट गरेका छन् ।
प्रधानमन्त्री शाह संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी नीति तथा कार्यक्रम वाचन गरिरहेको समयमा बैठकबाट बाहिरिएको विषयमा आलोचना खेपी रहेका छन् । आफ्नै सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत भएकै समयमा बैठकबाट बाहिरिएको विषय संसद र राष्ट्रपतिको मर्यादासँग जोडेर अलोचना भइरहेको छ ।
चौतर्फी आलोचना भएपछि सल्लाहकार शाहले प्रस्टीकरण दिएका थिए । उनले लेखेका थिए- 'सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिको क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो, त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।’
सल्लाहकार शाहले सो पोष्ट केहि मिनेटमै हटाएका छन् ।
आजकै प्रतिनिधि सभाको दोस्रो बैठकमा नेकपा एमालेका सांसद गुरु बरालले विशेष समय लिएर नै संसद र राष्ट्रपतिको मर्यादा विपरित प्रधानमन्त्रीको गतिविधि गरेको भन्दै आलोचना गरेका थिए । उनले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा प्रधानमन्त्री बैठक छोडेर गएको, अन्य सांसदसँग कुराकानी गरेर बसेको, राष्ट्रिय पोशाकमा उपस्थित नभएको लगायतका विषयमा प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
त्यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बाहिर प्रतिक्रिया दिदै प्रधानमन्त्रीले संसदमा धैर्यता देखाउनु पर्ने बताएका थिए ।









