• २०८३ बैशाख २९ मंगलबार

'फाला फाला' प्रकरणमा फसे दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसा

'फाला फाला' प्रकरणमा फसे दक्षिण अफ्रिकाका राष्ट्रपति रामाफोसा

काठमाडौँ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आफूमाथि महाभियोग प्रक्रिया सुरु हुन लागे पनि पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।

उनले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै केही समूहले राजीनामाको माग गरिरहेको भए पनि धेरै नागरिकले आफू पदमै रहन चाहेको बताएका छन् । उनले संवैधानिक प्रक्रिया पूरा नहुँदासम्म राजीनामा नदिने अडान दोहोर्‍याएका छन् ।

राष्ट्रपति रामाफोसाले अहिले राजीनामा दिए आफूले अनुसन्धान प्रतिवेदनलाई सही ठानेको अर्थ लाग्ने बताएका छन् । उनले उक्त प्रतिवेदनमा गम्भीर कमजोरी रहेको दाबी गर्दै आफ्नो कार्यकाल पूरा गर्ने बताएका छन् ।

यो विवाद 'फाला फाला' नामक निजी फार्मसँग सम्बन्धित छ । उक्त फार्ममा विदेशी जातका गाईभैंसी पालन गरिन्छ । सन् २०२० मा फार्मबाट करिब पाँच लाख ८० हजार अमेरिकी डलर चोरी भएको आरोप लागेको थियो । उक्त रकम छालाको सोफाभित्र लुकाएर राखिएको बताइएको छ ।

घटना सार्वजनिक भएको दुई वर्षपछि दक्षिण अफ्रिकाको राज्य सुरक्षा एजेन्सीका पूर्व प्रमुख अर्थर फ्रासरले राष्ट्रपति विरुद्ध उजुरी दिएका थिए । उजुरीमा राष्ट्रपति रामाफोसाले ठूलो रकमबारे सरकारी निकायलाई जानकारी नदिएको र चोरीको घटना प्रहरीमा दर्ता नगरेको आरोप लगाइएको थियो । रामाफोसाले भने उक्त रकम सुडानी व्यापारी मुस्तफा मोहम्मद इब्राहिम हाजिमलाई भैंसी बिक्री गरेर प्राप्त भएको दाबी गरेका थिए । तर घटनापछि कानुनी र नैतिक प्रश्न उठेका थिए । 

विवाद बढेपछि दक्षिण अफ्रिकी संसदले स्वतन्त्र अनुसन्धान समिति गठन गरेको थियो । समितिको प्रारम्भिक प्रतिवेदनमा राष्ट्रपतिले गम्भीर कानुन उल्लंघन गरेको हुन सक्ने उल्लेख गरिएको थियो । त्यसपछि सन् २०२२ मा उनीविरुद्ध महाभियोग प्रक्रिया सुरु गर्ने अवस्था बनेको थियो ।

यद्यपि पछि दक्षिण अफ्रिकी रिजर्भ बैंक र सार्वजनिक संरक्षक कार्यालयले केही कानुनी आरोपबाट रामाफोसालाई राहत दिएका थिए । उनीहरूको निष्कर्षअनुसार भैंसी बिक्री प्रक्रिया पूरा नभएकाले रकम औपचारिक रूपमा घोषणा गर्न कानुनी बाध्यता नरहेको बताइएको थियो ।

यसबीच दक्षिण अफ्रिकाको संवैधानिक अदालतले संसदले सन् २०२२ मा अनुसन्धान प्रतिवेदन खारेज गर्नु गलत र असंवैधानिक भएको फैसला गरेको छ । अदालतले उक्त प्रतिवेदनलाई औपचारिक महाभियोग समितिमा पठाउन आदेश दिएको छ ।

अदालतको आदेशपछि संसदकी सभामुख थोको डिडिजाले महाभियोग समिति गठन गरिने घोषणा गरेकी छन् । समितिले सार्वजनिक सुनुवाइ गर्दै 'फाला फाला' प्रकरणमा राष्ट्रपतिको भूमिकाबारे थप अनुसन्धान गर्ने जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै