काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
धनुषास्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस नक्टाझिजमा कार्यरत अधिकारीले कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनामा माटो तथा ग्राभेल फिलिङमा प्रयोग हुने सवारीसाधन रोक्ने र काम गर्न नदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।
अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानबाट अधिकारीले विभिन्न बहाना बनाएर सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । आयोगले भ्रष्टाचार निवारण ऐनअनुसार बिगो ४० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।









