काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति नभएको प्रति प्रश्न उठाएको छ ।
बुधबारको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै काँग्रेसका सचेतक निस्कल राईले सरकारको नीति तथा कार्यक्रममाछलफल हुने बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै सभामुखको रुलिङको माग गरेका हुन् ।
उनले काँग्रेसले मंगलबारको बैठकमै प्रधानमन्त्रीको स्वास्थ्यको विषय उठाएको बताउदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रमको जवाफ दिनुपर्ने माग गरेका छन् । उनले भने- 'सदनमा मैले प्रधानमन्त्रीलाई देखेको छैन । उहाँ आफैले बनाएको नीति तथा कार्यक्रमको जवाफ दिने कार्यसूची रहेको छ ।'
सांसद राईले सभामुखले नै संसदको गरिमा बढाउनु पर्ने भन्दै रुलिङ गरेर प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गरेका थिए ।
नीति तथा कार्यक्रममाथि सांसदहरूको प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने भनिए पनि आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरिएको छ ।









