काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक बस्ने भएको हो ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची रहेको छ । यसअघि बुधबार विपक्षी दलहरुको प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसदमा अवरोध गरेपछि छलफल हुन सकेको थिएन ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सोमबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८३/०८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्रहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले उल्लेख गरेको छ ।
त्यस्तै आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने र सभामुखले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजकै बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आ.व. २०८३/०८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ ।
त्यस्तै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले 'प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३' माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।









