• २०८३ जेठ २ शनिबार

भारतका दुई ठुला मिडिया कम्पनि जियो स्टार र जी इन्टरटेनमेन्ट कानुनी लडाइमा, के हो विवाद ?

भारतका दुई ठुला मिडिया कम्पनि जियो स्टार र जी  इन्टरटेनमेन्ट कानुनी लडाइमा, के हो विवाद ?

काठमाडौँ । भारतका दुई ठूला मिडिया कम्पनीहरू जियो स्टार र जी इन्टरटेनमेन्टबीचको कानुनी विवाद झन् चर्किँदै गएको छ । जियो स्टारले बलिउड फिल्महरूको प्रसारण अधिकार बिना अनुमति प्रयोग गरिएको भन्दै जी इन्टरटेनमेन्टविरुद्ध कानुनी प्रक्रिया अघि बढाएपछि विवाद चर्किएको हो ।

जियो स्टारले मे ४ मा दिल्ली उच्च अदालतको कानुनी सेवा समितिमा निवेदन दर्ता गरेको हो । यो समिति विवाद समाधान र मेलमिलापका लागि काम गर्ने निकाय हो । अब यो मुद्दाको सुनुवाइ मे २५ मा तोकिएको छ र जी इन्टरटेनमेन्टलाई उपस्थित हुन निर्देशन दिइएको छ । यदि कम्पनी उपस्थित नभएमा मेलमिलाप प्रक्रियामा सहभागी हुन अस्वीकार गरेको रूपमा मानिने चेतावनी पनि दिइएको छ ।

जियो स्टारले दायर गरेको करिब १२० पृष्ठको निवेदनमा जी इन्टरटेनमेन्टले १२ वटा बलिउड फिल्म करिब २० पटक बिना अनुमति प्रसारण गरेको आरोप लगाइएको छ । ती फिल्महरूमा शाहरुख खान र आमिर खानजस्ता चर्चित कलाकारका फिल्महरू पनि रहेको दाबी गरिएको छ । जियो स्टारले जी इन्टरटेनमेन्टलाई बारम्बार नियम उल्लङ्घन गर्ने संस्था भन्दै बिना अनुमति फिल्म प्रसारण र व्यावसायिक प्रयोग गरेको आरोप लगाएको छ ।

रिपोर्टका अनुसार यो विवाद २०२५ फेब्रुअरीदेखि दुई कम्पनीबीच आदान–प्रदान भएका दर्जनौँ कानुनी पत्र र नोटिससँग जोडिएको हो । जस अनुसार जियो स्टारले करिब २५ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति माग गर्न सक्ने सम्भावना छ, यद्यपि अन्तिम रकम अझै टुंगो लागेको छैन ।

निवेदनमा १९७५ को चर्चित फिल्म दीवार र त्रिदेव लगायतका फिल्महरू पनि उल्लेख गरिएको छ । जियो स्टारको दाबी अनुसार यी फिल्महरूको प्रसारण अधिकार उसैसँग रहेको छ, तर जी इन्टरटेनमेन्टले अनुमति बिना प्रसारण गरेको हो । तर जी इन्टरटेनमेन्टले भने यो प्रसारण 'अनजान र गल्तीले भएको' भन्दै प्रतिक्रिया दिएको छ । कम्पनीले भविष्यमा सावधानी अपनाउने बताएको छ तर क्षतिपूर्तिको दायित्व अस्वीकार गरेको छ ।

यो विवाद त्यही समयमा आएको हो जब यी दुई कम्पनीबीच अन्य कानुनी लडाइँहरू पनि चलिरहेका छन् । यसअघि लन्डनमा क्रिकेट सम्बन्धी सम्झौता भङ्ग भएको विषयमा १ अर्ब अमेरिकी डलरको मध्यस्थता विवाद पनि चलिरहेको छ । अर्को छुट्टै मुद्दामा जी इन्टरटेनमेन्टले अप्रिल २०२६ मा जियो स्टारविरुद्ध प्रतिलिपि अधिकार उल्लङ्घनको आरोप लगाउँदै मुद्दा दायर गरेको छ । त्यसमा जीले जियो स्टारले लाइसेन्स सकिएको संगीत सामग्री करिब ५० पटक प्रयोग गरेको भन्दै ३० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेको छ ।

जियो स्टार सन् २०२४ मा रिलायन्स उद्योग र डिज्नीको भारतीय मिडिया सम्पत्तिहरूको ८ अर्ब ५० करोड डलरको विलयपछि बनेको कम्पनी हो । हाल यो भारतको करिब ३० अर्ब डलरको मिडिया बजारमा सबैभन्दा ठूलो खेलाडी मानिन्छ । रिलायन्सका अनुसार जियो स्टारसँग भारतीय टेलिभिजन बजारको ३४.२ प्रतिशत हिस्सा छ भने जी इन्टरटेनमेन्टको हिस्सा करिब १८ प्रतिशत पुगेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै