काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका विषयमा टेलिफोन वार्ता भएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिका र इजरायलले इरानमाथि नयाँ आक्रमणको तयारी गरिरहेका छन् ।
द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहू र ट्रम्पबीच इरानसँगको युद्ध पुनः सुरु हुनसक्ने अवस्था तथा ट्रम्पको हालैको चीन भ्रमणबारे पनि छलफल भएको थियो ।
वार्तापछि नेतान्याहूले जेरुसेलममा सुरक्षा सम्बन्धी उच्चस्तरीय बैठक बोलाएका थिए । बैठकमा विदेशमन्त्री गिदोन सार, रक्षामन्त्री इजरायल काट्ज, अर्थमन्त्री बेजालेल स्मोट्रिच तथा राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन ग्वीरसहित वरिष्ठ मन्त्री र अधिकारी सहभागी भएका थिए ।
एक्सिओसको रिपोर्टअनुसार ट्रम्पले मंगलबार आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा बैठक गर्ने तयारी गरेका छन् । उक्त बैठकमा इरानविरुद्ध अपनाउन सकिने सैन्य विकल्पबारे छलफल हुने बताइएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा जर्मनीस्थित अमेरिकी सैन्य अड्डाबाट हतियार र गोलाबारुद बोकेका दर्जनौं कार्गो विमान तेल अभिभ पुगेका छन् । यसलाई इरानविरुद्ध सम्भावित नयाँ आक्रमणको तयारीका रूपमा हेरिएको छ ।
इजरायलको च्यानल–१३ ले अमेरिकी कार्गो विमान ठूलो मात्रामा गोलाबारुद लिएर इजरायल पुगेको दाबी गरेको छ । रिपोर्टमा यो सामग्री इरानविरुद्ध युद्ध पुनः सुरु गर्ने तयारीको हिस्सा भएको उल्लेख गरिएको छ ।
अमेरिका र इजरायलबीच इरानमाथि नयाँ सैन्य आक्रमणका विकल्पबारे छलफल भइरहेका बेला यो घटनाक्रम सार्वजनिक भएको हो ।
यसअघि पनि ट्रम्पले इरानलाई चेतावनी दिँदै छिट्टै सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए ।









