• २०८३ जेठ ८ शुक्रबार

क्युबासँग तनाव बढ्दै जादा क्यारिबियन सागरमा पुग्यो अमेरिकी युद्धपोत ‘युएसएस निमिट्ज’

क्युबासँग तनाव बढ्दै जादा क्यारिबियन सागरमा पुग्यो अमेरिकी युद्धपोत ‘युएसएस निमिट्ज’

काठमाडौँ । अमेरिका र क्युबाबीच बढ्दो तनावका बीच सैन्य गतिविधि पनि तीव्र बनेको छ । अमेरिकी विमानवाहक युद्धपोत ‘युएसएस निमिट्ज’ आफ्नो आक्रमण समूहसहित क्यारिबियन सागर क्षेत्रमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यो तैनाथी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाविरुद्ध कडा अभिव्यक्ति दिन थालेपछि भएको हो । अमेरिकी प्रशासनले क्षेत्रीय सैन्य उपस्थिति थप बलियो बनाउन युद्धपोत पठाइएको जनाएको छ ।

अमेरिकी नौसेनाको उक्त शक्तिशाली आक्रमण समूहमा लडाकु विमान, विद्युतीय युद्ध प्रणालीयुक्त विमान तथा सहयोगी हवाई साधनहरू समावेश रहेका छन् । साथै विनाशकारी युद्धपोत र इन्धन आपूर्ति जहाज पनि समूहसँगै रहेका छन् ।

अमेरिकी दक्षिणी कमान्डले ‘युएसएस निमिट्ज’ ले ताइवान जलडमरूमध्यदेखि अरब सागर क्षेत्रसम्म विभिन्न अभियानमा आफ्नो युद्ध क्षमता प्रदर्शन गरिसकेको जनाएको छ ।  सन् १९७५ मा सेवामा आएको यो विमानवाहक युद्धपोतले हालै ब्राजिलको रियो दि जेनेरियो तटमा ब्राजिली नौसेनासँग संयुक्त अभ्यास समेत गरेको थियो ।

यसबीच ट्रम्प प्रशासनले क्युबामाथि थप दबाब बढाएको छ । अमेरिकी न्याय विभागले क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध सन् १९९६ मा अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुई नागरिक विमान खसालिएको घटनासम्बन्धी हत्या तथा अन्य अपराधका औपचारिक आरोप लगाएको छ । उक्त घटनामा चार जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति ट्रम्पले यसलाई क्युबा–अमेरिकी समुदायका लागि महत्वपूर्ण क्षण भएको बताएका छन् । उनले क्युबाबाट अमेरिका पुगेका र आफ्ना परिवारसँग भेट्न पुनः क्युबा जान चाहने नागरिकका लागि पनि यो ठूलो विषय भएको बताएका छन् ।

यता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्पेनी भाषामा क्युबाली जनताका नाममा सन्देश जारी गर्दै क्युबाको कम्युनिष्ट सरकारलाई विद्युत् संकट र आर्थिक समस्याका लागि जिम्मेवार ठहर गरेका छन् । उनले अमेरिकाको इन्धन नाकाबन्दी नीतिको समेत समर्थन गरेका छन् ।

अमेरिकी गुप्तचर संस्था सिआइएका निर्देशक जोन राटक्लिफले हालै क्युबाली अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । उनले वार्ताको ढोका सधैँ खुला नरहने चेतावनी दिएपछि कूटनीतिक क्षेत्रमा थप तनाव बढेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै