• २०८३ जेठ ७ बिहीबार

रणवीर सिंहको धुरन्धरको नयाँ संस्करण ओटीटीमा रिलिज हुदै

रणवीर सिंहको धुरन्धरको नयाँ संस्करण ओटीटीमा रिलिज हुदै

काठमाडौँ । बलिवुड अभिनेता रणवीर सिंह अभिनित चलचित्र ‘धुरन्धर’को अनकट संस्करण ‘धुरन्धर रअ एन्ड अनदेखा’ ओटिटी प्लेटफर्म नेटफ्लिक्स र जियो हटस्टारमा प्रसारण हुने भएको छ । नेटफ्लिक्स र जियोहटस्टारले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् ।

चलचित्रको नयाँ संस्करण हिन्दी, तमिल र तेलुगु भाषामा उपलब्ध हुनेछ। ‘धुरन्धर’ गत वर्ष डिसेम्बर ५ मा हलमा प्रदर्शन भएको थियो भने त्यसपछि जनवरी ३० मा नेटफ्लिक्समा सार्वजनिक गरिएको थियो ।

यसैबीच चलचित्रको दोस्रो भाग ‘धुरन्धरः द रिभेन्ज रअ एन्ड अनदेखा’को प्रदर्शन मिति पनि घोषणा गरिएको छ। यो भाग जुन ४ मा साँझ ७ बजे प्रिमियर हुनेछ भने जुन ५ देखि जियोहटस्टारमा मात्र हेर्न सकिने जनाइएको छ ।

चलचित्रको नयाँ संस्करण सार्वजनिक हुन लागेको समयमा यसको दोस्रो भागलाई लिएर दिल्ली उच्च अदालतमा कानुनी विवाद चलिरहेको छ । सशस्त्र सीमा बलका हेड कन्स्टेबल दीपक कुमारले अदालतमा जनहित याचिका दायर गर्दै चलचित्रमा सेनाको गोप्य अपरेशनसँग सम्बन्धित विवरण देखाइएको आरोप लगाएका छन् ।

याचिकामा यसले देशको सुरक्षा र अखण्डतामाथि खतरा उत्पन्न गर्न सक्ने उल्लेख गरिएको छ। सुनुवाइका क्रममा अदालतले चलचित्र काल्पनिक भए पनि सुरक्षाकर्मीले उठाएका विषयलाई बेवास्ता गर्न नसकिने जनाएको छ ।

अदालतले भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालय र केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्डलाई आरोपबारे अनुसन्धान गर्न निर्देशन दिएको छ। साथै चलचित्रले ‘अफिसियल सिक्रेट्स एक्ट’ उल्लंघन गरेको हो वा होइन भन्ने विषय पनि जाँच गर्न भनिएको छ ।

रणवीर सिंह अभिनित ‘धुरन्धर’ र ‘धुरन्धर २’ले विश्वभरबाट ३ हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेका छन् । यससँगै यो ३ हजार करोडभन्दा बढी कमाउने पहिलो भारतीय चलचित्र शृङ्खला बनेको छ ।

‘धुरन्धर २’ले भारतमा करिब ११४५ करोड रुपैयाँ नेट कलेक्सन र विश्वभर करिब १७९७ करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । यस्तै सन् २०२५ डिसेम्बर ५ मा प्रदर्शनमा आएको पहिलो भाग ‘धुरन्धर’ले विश्वभर करिब १३०७ करोड रुपैयाँ कमाइ गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै