काठमाडौँ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएको भन्दै मौसमविद्हरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ ६ गतेदेखि सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भाग र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको छ ।
महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको जनाएको छ । आगामी तीन दिनसम्म पनि यी प्रदेशका केही स्थानमा तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि रहने तथा केही स्थानमा ४० डिग्री सेल्सियस नाघ्ने सम्भावना रहेको चेतावनी दिइएको छ ।
महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यम तातो लहर चल्ने सम्भावना छ भने पहाडी भू–भागमा अत्यधिक गर्मीका दिन रहने अनुमान गरिएको छ ।
अत्यधिक गर्मीका कारण थकान महसुस हुने, शरीर कमजोर हुने, धेरै तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता हुन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले यस्तो अवस्थाबाट जोगिन अत्यधिक गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा बाहिर ननिस्किन, चर्को घाममा हिँडडुल नगर्न र हल्का तथा सुतीका कपडा लगाउन सुझाव दिएको छ । बाहिर निस्कँदा टाउको छोप्ने, टोपी प्रयोग गर्ने तथा प्रशस्त मात्रामा पानी, झोल पदार्थ, जुस र सर्वत सेवन गर्न पनि आग्रह गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिए तत्काल स्वास्थ्यकर्मीसँग सम्पर्क गरी आवश्यक सल्लाह लिन महाशाखाले अनुरोध गरेको छ । साथै दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा हेरेर अद्यावधिक जानकारी लिन पनि सबैलाई आग्रह गरिएको छ ।









