काठमाडौं । काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघका सदस्य राष्ट्रका राजदूतहरूले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री शिशिर खानालसँग संयुक्त शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा मन्त्री खानालले युरोपेली संघले नेपालसँग गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा सहकार्य अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले सुशासनका प्रमुख आधारका रूपमा छिटो र प्रभावकारी सेवा प्रवाह तथा भ्रष्टाचारविरुद्धको कडा अडानलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै तीसँगै द्रुत आर्थिक विकास पनि सरकारको मुख्य लक्ष्य रहेको बताएका थिए ।
मन्त्री खानालले लगानीमैत्री वातावरण निर्माण, निर्यात प्रतिस्पर्धात्मकता वृद्धि र नवप्रवर्तन प्रवर्द्धनका लागि भइरहेको आर्थिक सुधारबारे जानकारी दिँदै जलविद्युत, पर्यटन, पूर्वाधार विकास र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन युरोपेली संघलाई आग्रह गरे । नेपालले हासिल गरेको प्रगति र जारी सुधारलाई ध्यानमा राख्दै उनले युरोपेली संघ सदस्य राष्ट्रहरूलाई नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न पनि आग्रह गरेका छन् ।
भेटमा बोल्दै युरोपेली संघकी नेपालका लागि राजदूत भेरोनिक लोरेन्जोले यस भ्रमणको उद्देश्य नयाँ सरकारप्रति युरोपेली संघको समर्थन पुनः पुष्टि गर्नु र नेपाल–युरोपेली संघबीच सहकार्यका अवसरहरू विस्तार गर्नु रहेको बताइन्। उनले डिजिटल शासन र प्रविधिमा युरोपेली विशेषज्ञता आदानप्रदान गर्न पनि संघ तयार रहेको जानकारी दिइन् ।









