काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको आरोपमा नवलपरासीका एक शिक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ निवासी कृष्णबहादुर खङ्गाहाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
अनुसन्धानका क्रममा खङ्गाहाले भारतीय शिक्षा बोर्ड नागाल्याण्ड बोर्ड अफ स्कुल एजुकेसन, कोहिमाबाट जारी भएको भनिएको प्रवेशपत्र, अंकपत्र र बसाइँसराइ प्रमाणपत्रलगायतका नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ । उनले २०५९ मंसिर १ गतेदेखि भवानी माध्यमिक विद्यालय नवलपरासीमा अस्थायी प्राथमिक तह शिक्षकका रूपमा नियुक्ति लिएका थिए। त्यसपछि २०७५ चैत २९ गते सोही विद्यालयमा स्थायी प्राथमिक तह शिक्षक पदमा नियुक्ति पाएको आरोप छ ।
हाल उनी मणिसंगम माध्यमिक विद्यालय विनयी त्रिवेणी–२ मा प्राथमिक तह तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत रहेका छन् । नक्कली प्रमाणपत्रका आधारमा पद, सुविधा र लाभ लिएको भन्दै उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गरिएको छ ।









