• २०८३ जेठ ११ सोमबार

काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया छिटो र व्यवस्थित गर्न खटायो केन्द्रीय प्रतिनिधि

काँग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया छिटो र व्यवस्थित गर्न खटायो केन्द्रीय प्रतिनिधि

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया छिटो र व्यवस्थित रूपमा अघि बढाउने केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा र समिति संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले १५औँ महाधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई तीव्र बनाउने निर्णय गरेको हो ।

बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी तोकेको छ । जसअनुसार कोशीमा डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, सुदूरपश्चिममा उदयशमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे र लुम्बिनीमा अमरसिंह पुनलाई विशेष जिम्मेवारी दिइएको छ ।

त्यस्तै, नयाँ सदस्यता वितरण तथा नवीकरण कार्य जेठ २१ गतेभित्र सम्पन्न गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने निर्णय गरिएको छ । १४औँ महाधिवेशनका क्रममा गठन भएको छानबिन समितिबाट मान्यता प्राप्त सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विभिन्न पार्टीबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता समस्या समाधान गर्न केन्द्रीय प्रतिनिधिहरूलाई विभिन्न जिल्लामा खटाउने निर्णय गरिएको छ । त्यसअनुसार बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौं लगायत जिल्लामा प्रतिनिधि खटाइनेछ ।

त्यस्तै, नेपाली कांग्रेसका जनसम्पर्क समितिबारे पनि बैठकले निर्णय गरेको छ। अधिवेशन सम्पन्न भएका सात देशका समितिमा सदस्यता अद्यावधिक प्रक्रिया अघि बढाउने अनुमति दिइएको छ। समस्या नदेखिएका १५ देशका समितिलाई अद्यावधिक गरेर अधिवेशन तालिका केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ । १४ औँ महाधिवेशनपछि सम्पर्क कमजोर भएका सात देशका समितिमा सदस्यता नवीकरण र नयाँ वितरण गर्न निर्देशन दिइएको छ भने समस्या देखिएका आठ देशका समितिमा अध्ययन गरी समाधान गर्न समन्वय गर्ने निर्णय भएको छ ।

बैठकले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै