• २०८३ जेठ १२ मंगलबार

अदालतको आदेश अनुसार रणवीर सिंहले गरे चामुन्डेश्वरी मन्दिरको दर्शन

अदालतको आदेश अनुसार रणवीर सिंहले गरे चामुन्डेश्वरी मन्दिरको दर्शन

काठमाडौं । बलिवुड अभिनेता रणवीर सिंहले मैसूरस्थित चामुन्डेश्वरी मन्दिरमा पुगेर पूजा–आराधना गरेका छन् । धार्मिक भावनामा ठेस पुगेको आरोप लागेपछि उनले कर्नाटक उच्च अदालतको निर्देशनअनुसार मन्दिरमा पूजा गरेका हुन् ।

रणवीर सिंहमाथि चलचित्र ‘कान्तारा’ मा देखाइएको ‘दैव’ दृश्यको नक्कल गरेर धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लागेको थियो । सोही विवादपछि अदालतले उनलाई चार साताभित्र चामुन्डेश्वरी मन्दिरमा पूजा गर्न निर्देशन दिएको थियो ।

अप्रिल महिनामा रणवीर सिंहले अदालतमा शपथपत्र बुझाउँदै बिना शर्त माफी मागेका थिए । त्यसपछि अदालतले मन्दिरमा पूजा गर्न आदेश दिएको जनाइएको छ । अदालतको आदेश पालना गर्दै रणवीर सिंह मंगलबार मन्दिर पुगेका थिए । उनको भ्रमणलाई धेरै हदसम्म गोप्य राखिएको थियो । उनी मंगलबार बिहान मुम्बई विमानस्थलमा देखिएका थिए । मन्दिरको गर्भगृहसम्म पुग्दासम्म उनले मुखावरण लगाएका थिए । त्यसपछि उनी पूजा गर्न गर्भगृहभित्र प्रवेश गरेका थिए ।

यो विवाद सन् २०२५ नोभेम्बर ३० मा गोवामा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसँग सम्बन्धित रहेको बताइएको छ । कार्यक्रममा रणवीर सिंहले चलचित्र ‘कान्तारा’ को चर्चित ‘दैव’ दृश्यको नक्कल गरेका थिए । उक्त दृश्यमा चलचित्रका निर्देशक तथा अभिनेता ऋषभ शेट्टी देखिएका थिए ।

रणवीर सिंहको उक्त दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि कन्नड भाषी समुदायको एक समूहले तीव्र आलोचना गरेको थियो ।

पछि रणवीर सिंहले सामाजिक सञ्जालमार्फत माफी माग्दै आफ्नो उद्देश्य ऋषभ शेट्टीको अभिनयको प्रशंसा गर्नु रहेको बताएका थिए । उनले आफू कलाकार भएकाले त्यो दृश्यलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न कति मेहनत आवश्यक पर्छ भन्ने राम्रोसँग बुझेको उल्लेख गरेका थिए ।

उनले ऋषभ शेट्टीप्रति गहिरो सम्मान रहेको भन्दै देशका सबै संस्कृति, परम्परा र आस्थाप्रति आफूले सधैं सम्मान गर्ने बताएका थिए । साथै आफ्नो व्यवहारबाट कसैको भावनामा चोट पुगेको भए क्षमा चाहेको उल्लेख गरेका थिए ।

यस घटनापछि रणवीर सिंहविरुद्ध कन्नड समुदायको भावनामा चोट पुर्‍याएको आरोपमा मुद्दा दर्ता गरिएको थियो । फेब्रुअरीमा उनले राहतको माग गर्दै कर्नाटक उच्च अदालतमा निवेदन दिएका थिए । त्यसक्रममा अदालतले उनीविरुद्ध कुनै बलपूर्वक कारबाही नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै