काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले सुनिश्चित गरेको गणतन्त्र कुनै एक व्यक्ति वा दलको नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको उल्लेख गरेका छन् । उनले संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताउदै संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउन तथा राज्य सञ्चालनमा रहेका परम्परागत र स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई थप सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको साँचो सम्मान हुने उनले उल्लेख गरेका छन् ।
उनले गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र नै भएको बताउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका छन् ।
प्रचण्डले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको बताएका छन् । सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको उनको भनाइ छ । उनले राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको भन्दै परिवर्तनका उपलब्धि कमजोर बनाउने प्रयासप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् ।









