काठमाडौँ । जापानले यस वर्ष भारतीय आँपको आयातमा रोक लगाएपछि विश्वकै सबैभन्दा ठूलो आँप उत्पादक देश भारतका निर्यातकर्ताहरू प्रभावित भएका छन् । जापानी अधिकारीहरूले आँप निर्यातअघि गरिने कीट नियन्त्रण प्रक्रियामा कमजोरी भेटिएपछि यस्तो निर्णय लिइएको बताएका छन् ।
जापानले भारतीय आँपमा लाग्ने किराका अण्डा वा लार्भा देशभित्र प्रवेश गरेर स्थानीय कृषिमा क्षति पुर्याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै आयात अस्थायी रूपमा रोकेको हो । यसअघि पनि सन् १९८० को दशकमा यस्तै चिन्ताका कारण जापानले भारतबाट आँप खरिद बन्द गरेको थियो ।
प्रत्येक वर्ष आँपको मौसममा जापानले आफ्ना निरीक्षकहरूलाई भारत पठाएर विशेष परीक्षण गराउने गर्दछ । यस क्रममा ‘वाष्पीय ताप उपचार’ नामक प्रक्रिया अपनाइन्छ, जसमा फललाई निश्चित समयसम्म तातो हावायुक्त कक्षमा राखेर भित्र रहेका कीरा र तिनका अण्डा नष्ट गरिन्छ । यस वर्षको निरीक्षणमा यही प्रक्रियामा त्रुटि भेटिएपछि जापानको वनस्पति संरक्षण निकायले भारतीय आँप स्वीकार नगर्ने निर्णय गरेको हो ।
जापानी पक्षले आवश्यक मापदण्ड पूर्ण रूपमा पालना भएकोमा विश्वस्त नभएसम्म भारतबाट आउने आँपको आयात रोकिरहने जनाएको छ । यो निर्णय आँपको मुख्य उत्पादन तथा निर्यात सिजनकै समयमा आएको हो ।
विश्वका विभिन्न क्षेत्रमा जारी तनाव र समुद्री ढुवानी मार्गमा देखिएका अवरोधका कारण निर्यातकर्ताहरू पहिले नै दबाबमा रहेका बेला जापानको यो कदमले थप चुनौती सिर्जना गरेको छ । ढुवानी बीमा शुल्क बढ्दा यातायात लागत पनि बढेको छ, जसको असर आँपसहित अन्य कृषि उत्पादनको निर्यातमा समेत पर्न सक्ने बताइएको छ ।
जापान फलफूल आयातका विषयमा निकै कडा नीति अपनाउने देश मानिन्छ । सन् १९७० को दशकमा देशको दक्षिणी क्षेत्रमा फलफूलमा लाग्ने एक प्रकारको झिँगा फैलिँदा आँप, मेवा लगायतका बालीमा ठूलो क्षति पुगेको थियो । त्यसपछि जापानले दीर्घकालीन अभियान चलाएर समस्या नियन्त्रणमा ल्याएको थियो । यही अनुभवका कारण अहिले त्यहाँ कीट तथा रोगप्रति शून्य सहनशीलताको नीति लागू छ ।
भारत र जापानबीच भएको सम्झौताअनुसार अल्फोन्सो, केसर, बंगनापल्ली, लंगडा, चौसा र मलिका जातका आँप जापान निर्यात हुँदै आएका थिए । विशेषगरी महाराष्ट्रमा उत्पादन हुने अल्फोन्सो आँप स्वाद, सुगन्ध र गुणस्तरका कारण जापानी बजारमा उच्च मूल्यको फलका रूपमा लोकप्रिय थियो ।
भारतले विश्वको कुल आँप उत्पादनको करिब ४० देखि ४५ प्रतिशत हिस्सा उत्पादन गर्ने गर्छ । भारतमा करिब एक हजार प्रजातिका आँप पाइन्छन्, तर अधिकांश उत्पादन आन्तरिक बजारमै खपत हुने भएकाले निर्यातको हिस्सा अपेक्षाकृत कम छ ।
भारतीय कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणका अनुसार आर्थिक वर्ष २०२४/२५ मा भारतले करिब ३० हजार टन ताजा आँप निर्यात गरेको थियो । यसको अधिकांश हिस्सा संयुक्त अरब इमिरेट्स, अमेरिका, बेलायत, कुवेत र कतार पठाइएको थियो । जापानतर्फ जाने आँपको मात्रा कुल निर्यातको एक प्रतिशतभन्दा पनि कम रहेको बताइएको छ ।









