• २०८३ जेठ १७ आइतबार

नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति

नेपाल-भारत सीमा बारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति काँग्रेसको गम्भीर आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभामा बोल्दै 'हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ' भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई गैरजिम्मेवार, आपत्तिजनक र राष्ट्रहितविपरीत भएको जनाएको छ ।

काँग्रेसले देशको कार्यकारी प्रमुखले ऐतिहासिक तथ्य र प्रमाणबिना संसद् जस्तो गरिमामय मञ्चमा राष्ट्रिय हित प्रतिकूल हुने अभिव्यक्ति दिनु अक्षम्य रहेको उल्लेख गरिएको छ । कांग्रेसले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान, कूटनीतिक विश्वसनीयता तथा सीमा सम्बन्धी नेपालको स्थापित अडानलाई कमजोर बनाएको आरोप लगाएको छ ।

कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सीमावर्ती क्षेत्रमा देखिएका प्राविधिक समस्यासँग तुलना गर्नु अनुचित भएको जनाएको छ । यस्तो अभिव्यक्तिले नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र नेपाली जनताको भावनामाथि आघात पुर्‍याएको दाबी गरिएको छ ।

काँग्रेसले प्रधानमन्त्रीले सीमा समस्याका विषयमा बेलायतसँग पनि कुरा भइरहेको भन्ने अभिव्यक्तिप्रति समेत आपत्ति जनाएको छ । कांग्रेसले स्थापित कूटनीतिक संयन्त्रलाई बेवास्ता गर्दै गरिएको यस्तो भनाइले नेपालको कूटनीतिक परिपक्वतामाथि नै प्रश्न उठाएको टिप्पणी गरेको छ ।

कांग्रेसले प्रधानमन्त्रीको उक्त भनाइ सरकारको आधिकारिक धारणा, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा वा प्रधानमन्त्रीको व्यक्तिगत विचारमध्ये के हो भन्ने स्पष्ट पार्न माग गरेको छ । साथै प्रधानमन्त्री र सरकारले संसद् तथा आम नेपाली जनतासमक्ष तत्काल स्पष्टीकरण दिनुपर्ने जनाएको छ ।

नेपाली कांग्रेसले ऐतिहासिक तथ्य, सन्धि र प्रमाणका आधारमा राष्ट्रिय स्वाभिमान तथा भौगोलिक अखण्डताको रक्षा गर्दै सीमा समस्याको समाधान वार्ता र कूटनीतिक माध्यमबाट खोज्न आफू सधैं प्रतिबद्ध रहेको दोहोर्‍याएको छ । प्रधानमन्त्रीबाट राष्ट्रहित र कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति आएको भन्दै कांग्रेसले त्यसप्रति खेद व्यक्त गर्दै घोर भर्त्सना गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै