काठमाडौँ । बेलायती राजनीतिमा फेरि एकपटक ठूलो हलचल मच्चिएको छ । पूर्व राजदूत पिटर म्यान्डेल्सनसँग सम्बन्धित एक हजार पाँच सय पृष्ठका नयाँ सरकारी दस्तावेज सार्वजनिक भएपछि प्रधानमन्त्री किर स्टार्मरमाथि दबाब बढेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको सुरुआतमा म्यान्डेल्सनलाई वासिङ्टनस्थित बेलायती दूतका रूपमा नियुक्त गरिएको थियो । तर उक्त नियुक्तिमाथि अहिले गम्भीर प्रश्न उठ्न थालेका छन् । म्यान्डेल्सनलाई नियुक्त भएको केवल नौ महिनामै पदबाट हटाइएको थियो । विपक्षी तथा आलोचकहरूले यसलाई सरकारको गलत निर्णय भन्दै प्रधानमन्त्री स्टार्मरको नेतृत्वमाथि प्रश्न उठाएका छन् ।
सार्वजनिक भएका दस्तावेजअनुसार नियुक्तिपूर्व सन् २०२४ नोभेम्बरमा म्यान्डेल्सनले तत्कालीन विदेशमन्त्री डेभिड लेमीलाई एक नोट लेखेका थिए । त्यसमा उनले आफूलाई नियुक्त गरेपछि सरकारले कहिल्यै पछुताउन नपर्ने दाबी गरेका थिए । उनले नोटमा लेखेका थिए- 'ट्रम्प प्रशासनसँग बेलायतको हित सुरक्षित राख्नु अत्यन्त कठिन काम हुनेछ । त्यसका लागि असाधारण क्षमता, भाग्य र ठूलो टोलीको आवश्यकता पर्छ ।' उक्त नोट पठाएको एक महिनापछि उनको नियुक्तिको घोषणा गरिएको थियो ।
यसअघि मार्चमा सार्वजनिक गरिएको पहिलो चरणका फाइलहरूले मन्त्रीहरूलाई पहिल्यै चेतावनी दिइएको खुलासा गरेका थिए । म्यान्डेल्सनको यौन अपराधी जेफ्री एपस्टिनसँगको मित्रताले सरकारको प्रतिष्ठामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको थियो । पछि म्यान्डेल्सन सुरक्षा परीक्षणमा असफल भएको तथ्य पनि बाहिर आएको थियो। त्यसका बाबजुद उनलाई राजदूत नियुक्त गरिएको खुलासापछि प्रधानमन्त्री स्टार्मर र वरिष्ठ निजामती अधिकारीहरूबीच आरोप–प्रत्यारोप चलेको थियो ।
सोमबार सार्वजनिक गरिएका थप फाइलहरूले केही नयाँ तथ्य उजागर गरेका छन् । यद्यपि मुख्य विवरणहरू अझै गोप्य राखिएका छन् । केही कागजात राष्ट्रिय सुरक्षाको कारण सार्वजनिक नगरिएको बताइएको छ भने केही प्रहरी अनुसन्धानका कारण रोकिएका छन् ।
हाल म्यान्डेल्सन सरकारी पदमा रहँदा भएको भनिएको कदाचारसम्बन्धी आरोपमा प्रहरी अनुसन्धानको सामना गरिरहेका छन् । अधिकारीहरूका अनुसार उनी सुरक्षा परीक्षणमा असफल हुनुको मुख्य कारण एपस्टिनसँगको सम्बन्ध नभई रुस र चीनसँग रहेका उनका व्यावसायिक सम्बन्ध थिए ।
म्यान्डेल्सन यसअघि पनि धनसम्पत्ति र नैतिकतासम्बन्धी विवादका कारण लेबर पार्टी नेतृत्वका दुई सरकारबाट राजीनामा दिन बाध्य भएका थिए । लीक भएका दस्तावेजहरूमा म्यान्डेल्सन र विभिन्न मन्त्रीबीच भएका ह्वाट्सएप सन्देश तथा विद्युतीय पत्राचार पनि समावेश छन् । सन् २०२५ मेमा उनले मन्त्रिपरिषद्का मन्त्री प्याट म्याकफ्याडनलाई पठाएको सन्देशमा 'किर स्टार्मरमा उत्साहको कमी छ' भनेका थिए । त्यस्तै पेन्सन मन्त्री टोरस्टेन बेलसँगको कुराकानीमा उनले सरकारका नीतिहरूलाई 'अत्यन्त कमजोर' भन्दै आलोचना गरेका थिए ।
यसैबीच सन् २०२५ सेप्टेम्बरमा डोनाल्ड ट्रम्पको बेलायत भ्रमणका लागि तयार पारिनुपर्ने विशेष सरकारी कागजात बक्स ढिलो भएको विषयमा पनि म्यान्डेल्सन आक्रोशित बनेका थिए । उनले स्टार्मरका तत्कालीन प्रमुख सहयोगी मोर्गन म्याकस्वीनीलाई पठाएको सन्देशमा 'कसैसँग बोल्ने जति पनि समझदारी देखिएन, यो पूर्ण अयोग्यता हो' भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
सन् २०२४ जुलाईमा ऐतिहासिक जित हासिल गरेर सत्तामा पुगेका स्टार्मर अहिले बढ्दो राजनीतिक संकटको सामना गरिरहेका छन् । गत मे महिनामा स्थानीय निर्वाचनमा लेबर पार्टीले ठूलो हार बेहोरेपछि उनको नेतृत्वमाथि थप दबाब परेको छ ।
निर्वाचनमा पराजयपछि वरिष्ठ मन्त्रिपरिषद् सदस्य वेस स्ट्रिटिङले स्टार्मरलाई चुनौती दिन राजीनामा दिएका छन् । त्यस्तै ग्रेटर म्यानचेस्टरका मेयर एन्डी बर्नह्याम पनि आगामी जुन १८ मा हुने विशेष निर्वाचनमा संसदीय सिटका लागि उम्मेदवार बन्ने तयारीमा छन् । उनी पनि स्टार्मरविरुद्ध नेतृत्व दाबी गर्न सक्ने अनुमान गरिएको छ ।









