• २०८३ जेठ १९ मंगलबार

अमेरिकासँगको सम्भावित समझदारीपत्र बारे इरानले विस्तृत समीक्षा गर्दै

अमेरिकासँगको सम्भावित समझदारीपत्र बारे इरानले विस्तृत समीक्षा गर्दै

काठमाडौँ । अमेरिका र इरानबीच हुन सक्ने सम्भावित समझदारीपत्रको अन्तिम मस्यौदामाथि इरानले विस्तृत समीक्षा गरिरहेको जनाएको छ । इरानले अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया नपठाएको जानकारी अर्धसरकारी समाचार संस्था मेहरले जानकारी दिएको छ ।

प्रतिवेदनअनुसार इरानी वार्ता टोलीले दस्तावेजका सर्त र प्रावधानहरूको विस्तृत अध्ययन गरिरहेको छ । समीक्षा प्रक्रिया पूरा भएपछि मात्रै तेहरानले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

इरानी वार्ता टोली निकट स्रोतका अनुसार विगतमा अमेरिका विभिन्न सम्झौता र प्रतिबद्धताबाट पछि हटेको इतिहास रहेकाले इरानले यस विषयमा अत्यन्त सावधानीपूर्ण दृष्टिकोण अपनाएको छ ।  रिपोर्टमा भनिएको छ- 'अमेरिकाले आफ्ना वाचा तोड्दै आएको इतिहास र लामो समयदेखि कायम अविश्वासका कारण इरानले यो विषयमा निकै कडा र सतर्क नीति अपनाएको हो ।'

सम्भावित समझदारीपत्रको विषयवस्तु भने सार्वजनिक गरिएको छैन । यद्यपि यसलाई अमेरिका र इरानबीच जारी कूटनीतिक संवादको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।  विज्ञहरूका अनुसार वर्षौंदेखिको तनावपूर्ण सम्बन्धका कारण इरान कुनै पनि नयाँ सम्झौताबारे निर्णय लिनुअघि हरेक पक्षको गहिरो अध्ययन गर्न चाहन्छ । त्यसैले इरानको आगामी प्रतिक्रियामाथि अन्तर्राष्ट्रिय समुदायको विशेष ध्यान केन्द्रित भएको छ ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले युद्धविराम अवधिमा आफ्नो सैन्य तथा सञ्चालन क्षमता थप सुदृढ भएको दाबी गरेको छ । संगठनका प्रवक्ता जनरल सरदार मोहबीले हालै भएको अमेरिका–इजरायल संघर्षबाट इरानी सशस्त्र बलले महत्वपूर्ण रणनीतिक तथा सञ्चालनसम्बन्धी अनुभव हासिल गरेको बताएका छन् । सरकारी प्रसारण संस्था आइआरआइबीसँगको कुराकानीमा मोहबीले भने- 'आज हाम्रो सशस्त्र सेना पहिलेको तुलनामा अझ बलियो अवस्थामा छ।'

उनका अनुसार हालैको संघर्षको प्रमुख उपलब्धिमध्ये एक भनेको इरानले आफ्ना विरोधीहरूको सैन्य रणनीति र कार्यशैलीबारे थप जानकारी प्राप्त गर्नु हो। यसले भविष्यका तयारीहरूलाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको उनले बताए । मोहबीले भविष्यमा विपक्षी पक्षले पुनः सैन्य कारबाहीको बाटो रोजे इरानको प्रतिक्रिया फरक प्रकृतिको हुने चेतावनी पनि दिएका छन्। उनका अनुसार सम्भावित भविष्यको संघर्षमा सैन्य अभियानको स्वरूप, युद्धक्षेत्र र प्रयोग गरिने हतियारहरूमा समेत परिवर्तन देखिन सक्छ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स सबै सम्भावित परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको र कुनै पनि सैन्य चुनौतीको सामना गर्न सक्षम रहेको मोहबीको दाबी छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै