काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसनले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे आफ्नो धारणा सार्वजनिक गर्दै सवारी साधनमा लाग्ने कर नीतिबारे गम्भीर चासो जनाएको छ ।
संघीय संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटप्रति ध्यानाकर्षण भएको भन्दै नाडाले सरकारले विद्युतीय सवारी साधनमा हाल लाग्दै आएको अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लागू गर्ने व्यवस्था गरेको र यसले विद्युतीय मात्र नभई इन्धनबाट चल्ने सवारी साधनको मूल्य समेत बढ्ने अवस्था देखिएको बताएको छ ।
नेपाल विश्व व्यापार संगठनको सदस्य भएको लामो समय भइसकेको र अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रतर्फ अघि बढिरहेको सन्दर्भमा सवारी साधनमा थप कर नबढाउने अपेक्षा गरिएको भए पनि त्यस विपरीत बजेट आएको नाडाले जनाएको छ ।
त्यस्तै, मोटरको अधिकतम शक्ति क्षमताका आधारमा महशुल दर तोकिँदै आएको व्यवस्था हटाएर अब कारोवार मूल्यका आधारमा कर निर्धारण गर्ने नीति ल्याइएकोप्रति पनि नाडाले असन्तुष्टि जनाएको छ ।
नाडाले सधैँ स्थिर कर नीतिको माग गर्दै आएको स्मरण गराउँदै सवारी साधनमा कर प्रणाली स्थिर र अनुमानयोग्य हुनुपर्नेमा जोड दिएको छ । साथै, मूल्य स्थिरताका लागि नेपाली रुपैयाँको सट्टा डलरका आधारमा कर निर्धारण गर्नु बढी व्यवहारिक हुने सुझाव पनि दिएको छ ।
बजेटले करिब तीन खर्ब रुपैयाँ सडक पूर्वाधार निर्माणमा विनियोजन गर्दै अधुरा सडक तथा राजमार्ग पूरा गर्ने प्रतिबद्धता जनाउनु सकारात्मक पक्ष भएको नाडाको मूल्यांकन छ । द्रुत गतिमा पूर्वाधार विकास भएमा अटोमोबाइल व्यवसाय पनि चलायमान हुने अपेक्षा गर्दै नाडाले बजेट महत्वाकांक्षी भए पनि यसको प्रभावकारी कार्यान्वयन भए अर्थतन्त्रलाई गति दिने निष्कर्ष रहेको उल्लेख गरेको छ ।









