काठमाडौँ । पछिल्लो पटक इरानसँग मिसाइल हानाहान गर्न शुरु भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई राजनीतिक फाइदा हुने भएको छ ।
इरानसँग पुनः चर्किएको द्वन्द्व राजनीतिक रूपमा फाइदाजनक बनेको विश्लेषण गरिएको हो । न्यूयोर्क टाइम्सले यस घटनाले नेतन्याहूलाई आफ्ना असन्तुष्ट समर्थकमाझ आफू अमेरिकी दबाबमा नझुक्ने नेता भएको सन्देश दिन मद्दत गरेको विश्लेषण गरेको छ ।
रिपोर्टअनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको विरोध गर्ने वा कम्तीमा त्यस्तो देखाउने रणनीति नेतन्याहूका लागि राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । केही महिनापछि हुने चुनावअघि सार्वजनिक मत सर्वेक्षणमा उनी पछि परिरहेका छन् र पराजयको जोखिम बढ्दै गएको बताइएको छ। केवल एक साताअघि ट्रम्प र नेतन्याहूबीच टेलिफोन वार्ताका क्रममा तनावपूर्ण संवाद भएको थियो । त्यसपछि ट्रम्पले सार्वजनिक रूपमा उक्त वार्तामा आफूले नेतन्याहूलाई 'पागल' समेत भनेको स्वीकार गरेका थिए ।
विश्लेषकहरूका अनुसार नेतन्याहूको ट्रम्प प्रशासनले अघि बढाइरहेको सम्भावित शान्ति सम्झौताप्रति असन्तुष्टि रहेको छ । उनले त्यस्तो सम्झौताले इजरायलको सुरक्षा नीतिमा असर पार्न सक्ने र लेबनानस्थित सशस्त्र समूह हिजबुल्लाहविरुद्ध इजरायलले चाल्ने सैन्य कदमहरू सीमित हुन सक्ने आशंका गरेका छन् ।
इरानसँगको नयाँ तनावले नेतन्याहूलाई आन्तरिक राजनीतिक दबाबबाट केही राहत दिएको भए पनि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने विश्लेषण गरिएको छ ।
अमेरिकाले इरानमाथि आक्रमण नगर्ने स्पष्ट निर्देशन दिएपनि इजरायलले सोमबार इरानका विभिन्न स्थानमा मिसाइल आक्रमण गरेको छ । इजरायलले इरानले गरेको आक्रमणपछि जवाफी आक्रमण गरेको हो । तर इरानले भने इजरायलले लेबनानमाथि आक्रमण जारी राखेमा फेरी आक्रमण गर्ने चेतावनी दिएको छ ।









