काठमाडौँ । दक्षिणी फिलिपिन्सको तटीय क्षेत्रमा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण हालसम्म कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । धेरैजसो भवनहरू भत्किँदा मानिसहरू पुरिएको आशंका गरिएको छ ।
भूकम्पपछि करिब १ मिटर अग्लो सुनामी छाल नजिकका तटीय क्षेत्रमा पुगेको थियो । जनरल सान्तोस शहरमा धेरैजसो कम तला भएका भवनहरू ढलेका वा गम्भीर क्षति भएका छन् । सराङ्गानी प्रान्तका केही गाउँमा पनि ठूलो क्षति भएको बताइएको छ ।
सराङ्गानी अन्तर्गत ग्लान नगरपालिकामा गएको पहिरोमा १३ गाउँलेको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन अधिकारी रेने पुन्जालनका अनुसार सराङ्गानीमै थप ४ जनाको ज्यान गएको छ । भूकम्पका कारण जनरल सान्तोसमा कम्तीमा ४ जना बेपत्ता छन् । त्यहाँको सुपरमार्केट, गोदाम, विद्यालय लगायतका भवनमा उद्धार कार्य जारी छ । ठूलो जनसङ्ख्या भएको बन्दरगाह शहर भएकाले उद्धार टोलीलाई कठिनाइ भएको छ ।
जनरल सान्तोस विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ भने १७ वटा आन्तरिक उडान रद्द भएका छन् । भूकम्प समुद्रमा, मिन्डानाओ टापु नजिक केन्द्रित थियो । यसको गहिराइ करिब ३३ किलोमिटर रहेको फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ । अधिकारीहरूले भूकम्पपछि आउने परकम्पका कारण क्षतिग्रस्त भवनमा नजान चेतावनी दिएका छन् ।
विद्यालयमा भइरहेको झण्डा फहराउने कार्यक्रममा रहेका सयभन्दा बढी विद्यार्थी र शिक्षक भूकम्पले आत्तिएर बाहिर भागेका थिए । तर धेरै विद्यार्थी सुरक्षित रहेका छन् । केही संरचना ढलेर मोटरसाइकलमा क्षति पुगेको छ । सुनामीका साना छालहरू इन्डोनेसिया, पलाउ र दक्षिण जापानसम्म पनि महसुस गरिएको छ । मलेसियाको सबाह क्षेत्रमा पनि भूकम्पको धक्का अनुभव गरिएको जनाइएको छ ।
संयुक्त राज्य अमेरिका, फ्रान्स, जापान र न्युजिल्यान्डले फिलिपिन्स सरकारलाई सहयोग गर्न तयार रहेको बताएका छन् । भूकम्प प्रशान्त महासागर वरिपरि रहेको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले फिलिपिन्समा यस्ता प्राकृतिक विपद् बारम्बार हुने गर्छन् ।









