काठमाडौँ । पुँजी बजारको अवस्था पछिल्लो १० महिनामा समग्रमा सुधार भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार नेपाल धितोपत्र बजार सूचकाङ्क २०८२ वैशाख मसान्तमा २६२०.२७ रहेकोमा २०८३ वैशाख मसान्तमा बढेर २७३०.१८ कायम भएको छ ।
त्यस्तै, २०८३ वैशाख मसान्तसम्ममा धितोपत्र बजारको कुल बजार पुँजीकरण रु. ४६५६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्ष २०८२ वैशाख मसान्तमा यो रकम रु. ४३५८ अर्ब ७१ करोड थियो । सो अवधिमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको हिस्सा २०८२ मा ७०.३० प्रतिशत रहेकोमा २०८३ मा ७०.५५ प्रतिशत पुगेको छ ।
२०८३ वैशाख मसान्तसम्म नेपाल धितोपत्र बजारमा सूचीकृत कम्पनीको संख्या २९४ पुगेको छ । अघिल्लो वर्ष यो संख्या २७१ थियो । सूचीकृत कम्पनीमध्ये १३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यसैगरी १०३ जलविद्युत् कम्पनी, २८ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी रहेका छन् ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बजार पुँजीकरण हिस्सा सबैभन्दा बढी ५०.७ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत् कम्पनीको १७.५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.८ प्रतिशत, लगानी कम्पनीको ६.९ प्रतिशत, व्यापारिक संस्थाको ४.६ प्रतिशत, होटल क्षेत्रको ३.३ प्रतिशत र अन्य समूहको ८.३ प्रतिशत हिस्सा रहेको छ ।
२०८३ वैशाख मसान्तसम्म सूचीकृत कम्पनीका कुल ९ अर्ब ४८ करोड कित्ता शेयरको चुक्ता मूल्य रु. ९३४ अर्ब ८ करोड पुगेको छ ।
समीक्षा अवधिमा अर्थात् आर्थिक वर्ष २०८२-८३ को दश महिनामा विभिन्न प्रकारका धितोपत्र थप सूचीकृत भएका छन् । यस अवधिमा रु. ४५ अर्ब ५४ करोड बराबरको साधारण शेयर, रु. ४० अर्ब ३३ करोड बराबरको बोनस शेयर, रु. ९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु. २७ अर्ब ५० करोड बराबरको सामूहिक लगानी कोष, रु. ३ अर्ब ४५ करोड बराबरको ऋणपत्र, रु. ९७ करोड १७ लाख बराबरको थप सार्वजनिक निष्काशन र रु. २ करोड २९ लाख बराबरको अन्य गरी कुल रु. १ खर्ब ३६ अर्ब ३० करोड बराबरको धितोपत्र सूचीकृत भएका छन् ।
त्यसैगरी, सोही अवधिमा नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनका लागि अनुमति दिएको विवरणअनुसार रु. २७ अर्ब २३ करोड बराबरको सामूहिक लगानी कोष, रु. ९ अर्ब १२ करोड बराबरको साधारण शेयर, रु. ४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, रु. २० करोड बराबरको ऋणपत्र र रु. ५ करोड बराबरको थप सार्वजनिक निष्काशन गरी कुल रु. ४१ अर्ब ५३ करोड बराबरको धितोपत्रलाई अनुमति प्रदान गरिएको छ ।









