काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित १५ नम्बर शिवालयमा हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार २०८२ फागुन ६ गते पशुपतिस्थित १५ नम्बर शिवालयमा संखुवासभा घर भएका सन्तोष गिरी भनिने सन्तोष परियार मृत अवस्थामा फेला परेका थिए ।
घटनाको अनुसन्धानका क्रममा हत्यामा संलग्न रहेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भएका दर्बेनाथ भनिने सुविन रानामगरलाई महोत्तरीको गौशाला नगरपालिका–६ बाट पक्राउ गरिएको हो ।
पक्राउ परेका रानामगरलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









