पोखरा । छाडा तथा उद्धार गरिएका कुकुरको व्यवस्थापनका लागि कुकुर आश्रय गृह (डग होस्टेल) सञ्चालन गर्न प्रस्ताव आह्वान गरिएको छ ।
पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका छाडा तथा उद्धार गरिएका कुकुरहरूको व्यवस्थापन, संरक्षण, उपचार तथा दीर्घकालीन पुनर्स्थापनाका लागि कुकुर आश्रय गृह सञ्चालन कार्यक्रम लागत साझेदारीमा सञ्चालन गर्ने निर्णयअनुसार इच्छुक, सक्षम तथा अनुभव भएका संघसंस्था, गैरसरकारी संस्था, पशु कल्याणसम्बन्धी संस्था वा सम्बन्धित निकायहरूबाट प्रस्ताव आह्वान गरिएको हो ।
यो सूचना प्रकाशित भएको मितिले (असार १ गते) ७ दिनभित्र कार्यालय समयभित्र पोखरा महानगरपालिका पशु सेवा शाखामा प्रस्ताव पेस गर्न भनिएको छ । कार्यक्रमको उद्देश्यमा उद्धार गरिएका तथा छाडा कुकुरहरूको सुरक्षित आवास व्यवस्था गर्ने, उपचार तथा खोप सेवा उपलब्ध गराउने, पशु कल्याण र जनस्वास्थ्य संरक्षण गर्ने, मानवमैत्री तथा व्यवस्थित छाडा कुकुर व्यवस्थापन प्रणाली विकास गर्ने र समुदायमा जनचेतना अभिवृद्धि गर्ने रहेको छ ।
कार्यक्रम पोखरा महानगरपालिका र छनोट भएको संस्था बीच लागत साझेदारीमा सञ्चालन गरिनेछ । आवश्यक पूर्वाधार, जनशक्ति तथा सञ्चालन व्यवस्थापन प्रस्तावका आधारमा साझेदारी तय गरिनेछ ।
आवेदक संस्थासँग पशु कल्याण वा पशु सेवा क्षेत्रमा दर्ता भई कार्यरत भएको हुनुपर्ने, कम्तीमा २ वर्षको सम्बन्धित कार्य अनुभव हुनुपर्ने, आवश्यक पूर्वाधार वा व्यवस्थापन क्षमता भएको हुनुपर्ने तथा समान प्रकृतिका परियोजना सञ्चालन गरेको अनुभवलाई प्राथमिकता दिइने महानगरपालिकाले जनाएको छ ।
आवेदनसँग संस्थाको दर्ता तथा नवीकरण प्रमाणपत्र, स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, संस्थाको प्रोफाइल, कुकुर आश्रय गृह तथा पशु कल्याणसम्बन्धी अनुभव विवरण र प्रस्तावित कार्यक्रमको विस्तृत अवधारणा संलग्न गर्नुपर्ने महानगरले उल्लेख गरेको छ ।









