काठमाडौँ । अफ्रिकी मुलुक नाइजरको राजधानी नियामीस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र आक्रमणकारीहरूले ठूलो हमला गरेका छन् । घटनामा ११ सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको छ भने सुरक्षा बलको जवाफी कारबाहीमा २२ आक्रमणकारी मारिएका छन् ।
नाइजरको रक्षा मन्त्रालयका अनुसार आक्रमणकारीहरूले डियोरी हमानी अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाएका थिए । सुरक्षा बलले तत्काल कारबाही गर्दै आक्रमण विफल पारेको जनाएको छ । घटनापछि २० जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको छ भने उनीहरूबाट हतियार र ठूलो परिमाणमा गोलीगठ्ठा बरामद गरिएको छ ।
प्रत्यक्षदर्शीका अनुसार आक्रमणका क्रममा विमानस्थल क्षेत्रमा लगातार गोली चलेको र विस्फोटका आवाज सुनिएको थियो । त्यसपछि सुरक्षा बलले सम्पूर्ण क्षेत्रलाई नियन्त्रणमा लिएर विमानस्थल जाने सबै मार्गमा कडा सुरक्षा जाँच सञ्चालन गरेको थियो । यद्यपि केही घण्टापछि नाइजरको राष्ट्रिय नागरिक उड्डयन निकायले विमानस्थलको सेवा नियमित रूपमा सञ्चालन भइरहेको र उडान सेवामा कुनै ठूलो असर नपरेको जनाएको छ ।
यो सन् २०२६ मा उक्त विमानस्थलमा भएको दोस्रो ठूलो हमला हो । यसअघि जनवरीमा पनि यही विमानस्थललाई निशाना बनाइएको थियो । त्यसबेला भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो ।
डियोरी हमानी अन्तर्राष्ट्रिय विमानस्थल नाइजरका लागि अत्यन्त रणनीतिक महत्वको स्थल मानिन्छ । त्यहाँ नाइजर वायुसेनाको आधार शिविर रहेको छ । साथै नाइजर, बुर्किना फासो र मालीको संयुक्त सैन्य बलको मुख्यालय पनि सोही परिसरमा अवस्थित छ ।
सुरक्षा विज्ञहरूका अनुसार जनवरीको आक्रमणपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको भए पनि क्षेत्रमा सक्रिय जिहादी समूहहरू अझै ठूलो चुनौतीका रूपमा रहेका छन् । साहेल क्षेत्रका नाइजर, बुर्किना फासो र माली लामो समयदेखि आतंकवादी हिंसाबाट प्रभावित हुँदै आएका छन् ।
सन् २०२३ मा सैन्य कू भएपछि नाइजरमा सेना समर्थित सरकार सत्तामा आए पनि देशभित्रका आतंकवादी गतिविधिलाई पूर्ण रूपमा नियन्त्रण गर्न भने अझै सफलता मिल्न सकेको छैन । सुरक्षा विश्लेषकहरूले विमानस्थलको उच्च सामरिक महत्वका कारण भविष्यमा पनि यस्ता समूहले यसलाई बारम्बार निशाना बनाउन सक्ने चेतावनी दिएका छन् ।









