• २०८३ असार ७ आइतबार

मेसीका पिता बारे गलत सूचना दिने अर्जेन्टिनी टेलिभिजन प्रस्तोताको जागिर चट !

मेसीका पिता बारे गलत सूचना दिने अर्जेन्टिनी टेलिभिजन प्रस्तोताको जागिर चट !

काठमाडौँ । अर्जेन्टिनाको एक टेलिभिजन प्रस्तोताले लाइभ प्रसारणका क्रममा गलत सूचना दिएपछि पदबाट राजीनामा दिएकी छन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीका बुबाको निधन भएको भन्दै प्रसारण गरेकी थिइन्, जुन पछि पूर्ण रूपमा असत्य साबित भएको छ ।

फ्लोरेन्सिया पेना नामकी प्रस्तोताले अर्जेन्टिनाको विश्वकपको पहिलो खेलपछि एक लाइभ कार्यक्रमका क्रममा उक्त दाबी गरेकी थिइन् । उनले भनेकी थिइन्- 'मलाई नराम्रो खबर सुनाउनु पर्‍यो, मेस्सीका बुबाको अचानक निधन भएको छ ।'

यो सूचना प्रसारणपछि सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो। तर केही समयमै उनले आफैंले उक्त खबर पुष्टि नभएको भन्दै सच्याएकी थिइन् । पछि मेसी परिवारले विज्ञप्ति जारी गर्दै लियोनल मेसीका बुबा जोर्गे मेसी उपचाररत रहेको र स्वास्थ्य समस्या भोगिरहेका तर जीवित रहेको स्पष्ट पारेको थियो । परिवारले उनको स्वास्थ्यबारे अफवाह नफैलाउन र निजी जीवनको सम्मान गर्न आग्रह गरेको छ ।

घटनापछि फ्लोरेन्सिया पेनाले सार्वजनिक रूपमा माफी माग्दै आफूलाई प्रसारणका क्रममा गलत र पुष्टि नभएको सूचना दिइएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा लेखेकी छन्- 'मलाई गहिरो पश्चाताप छ, मैले गल्ती गरेँ ।'

त्यसैगरी प्रसारण संस्थाले पनि माफी माग्दै बिना पुष्टि संवेदनशील समाचार प्रसारण गर्नु गलत भएको जनाएको छ । संस्थाले घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिएको र जिम्मेवारहरूलाई हटाइएको जानकारी दिएको छ । यो विवाद मेसीले अर्जेन्टिनालाई अल्जेरियाविरुद्ध ३-० को जित दिलाउँदै ह्याट्रिक गरेपछि सार्वजनिक भएको हो । खेलपछि मेसीले व्यक्तिगत कारणले केही कठिन दिन भोगिरहेको संकेत गरेका थिए । घटनापछि अर्जेन्टिनामा व्यापक आलोचना भएको छ ।

राष्ट्रपति जाभियर मिलेइले सामाजिक सञ्जालमा यसलाई गैरजिम्मेवार र असंवेदनशील टिप्पणी भन्दै कडा आलोचना गरेका छन् । अर्जेन्टिना अब विश्वकप अभियानअन्तर्गत आगामी खेलमा अस्ट्रियासँग भिड्नेछ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै