• २०८३ असार ७ आइतबार

विश्वकपमा जितको खोजीमा रहेको स्पेनले आजराती साउदी अरबको सामना गर्दै

विश्वकपमा जितको खोजीमा रहेको स्पेनले आजराती साउदी अरबको सामना गर्दै

काठमाडौँ । स्पेनले जारी विश्वकपफुटबलको समूह एच अन्तर्गत दोस्रो खेलमा साउदी अरबसँग आज राति प्रतिस्पर्धा गर्दा आफूलाई प्रमाणित गर्ने ठूलो अवसरको खोजीमा हुनेछ ।

अमेरिकाको एटलान्टा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदैछ ।

युरोपेली च्याम्पियन प्रशिक्षक लुइस दे ला फुएन्तेको टिमलाई यस पटकको उपाधि जित्ने प्रमुख दाबेदारमध्ये एक मानिएको भएपनि विश्वकपमा सुरुवात भने निराशाजनक गरेको छ । समूहको पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिँदा उनीहरू अपेक्षित प्रदर्शन गर्न सकेनन् । अनुभवी गोलरक्षक भोजिन्हा र बलियो रक्षापंक्तिले स्पेनका स्टार खेलाडीहरूलाई रोक्न सफल भयो । अब सबै ध्यान आजराती हुने यस खेलमा हुने छ, जहाँ स्पेनले आफ्नो शक्ति देखाउँदै उपाधि दाबेदारको हैसियत पुनः स्थापित गर्न चाहन्छ । तर स्पेनका लागि चिन्ता पनि छ । उनीहरूले पछिल्ला चार विश्वकप खेलमा जित निकाल्न सकेका छैनन्, तीन बराबरी र एक हारको नतिजा छ, जुन प्रतियोगितामा उनीहरूको संयुक्त रूपमा सबैभन्दा लामो जितविहीन क्रम हो ।

यसबाहेक, पछिल्ला तीन संस्करणका नौ खेलमध्ये स्पेनले मात्र दुई खेल जितेको छ, एकमा हार र छ खेल बराबरीमा सकिएको छ । पछिल्ला दुई विश्वकप खेल गोलरहित समाप्त भएका छन् । स्पेनले लगातार तीन खेलमा गोल नगरेको इतिहास छैन । सन् २०२२ मा जापानविरुद्धको खेलको ११ औँ मिनेटपछि उनीहरूले २५०० पास पूरा गरेका छन् र ४९ पटक प्रहार गरे पनि गोल गर्न सकेका छैनन् । केप भर्डेसँगको बराबरीमा स्पेनको बल नियन्त्रण ७४.३ प्रतिशत रह्यो, जुन सन् १९६६ यताकै विश्वकप इतिहासमा गोल नगरी खेल्ने टोलीमध्ये चौथो उच्च तथ्यांक हो । यसअघि सन् २०२२ मा मोरक्कोविरुद्ध पनि उनीहरूको बल नियन्त्रण ७६.८ प्रतिशत थियो ।

लामिन यमलले केप भर्डेविरुद्ध बेन्चबाट सुरुवात गरे पनि चोटबाट फर्किँदै फिटनेस सुधार गरिरहेकाले अब अझ महत्वपूर्ण भूमिका पाउने अपेक्षा छ । पहिलो खेलमा उनले ७१औँ मिनेटपछि मैदान प्रवेश गर्दा सबैभन्दा धेरै पाँच पटक ड्रिबल प्रयास गरेका थिए । तर सुरुवाती विङ्गर गाभी र फेरान टोरेसले मिलेर मात्र तीन पटक प्रयास गरेका थिए । मिडफिल्डर रोड्रीले खेलमा सबैभन्दा धेरै लाइन तोड्ने पास गरेका थिए । उनले पाँच पटक आक्रमणमा अवसर सिर्जना गर्ने पास पनि गरेका थिए, जुन पहिलो चरणको खेलमा सर्वाधिकमध्ये एक हो । साउदी अरबले भने पहिलो खेलमा उरुग्वेसँग १-१ को महत्वपूर्ण बराबरी खेल्दै अंक जोड्यो, जसले केप भर्डेको अप्रत्याशित नतिजापछि अझ महत्व पाएको छ । साउदी अरबले आफ्नो इतिहासमा पहिलो पटक लगातार पहिलो दुई खेलमा अपराजित रहने लक्ष्य राखेको छ, यो उनीहरूको सातौँ विश्वकप सहभागिता हो ।

स्पेन र साउदी अरब अहिलेसम्म तीन पटक आमनेसामने भएका छन् र सबै खेल स्पेनले जितेको छ । ती खेलमा स्पेनले ९ गोल गरेको छ भने २ गोल मात्र खाएको छ । उनीहरूको एकमात्र विश्वकप भेट सन् २००६ को समूह चरणमा भएको थियो, जसमा स्पेन १-० ले विजयी भएको थियो ।

साउदी अरबले विश्वकपमा युरोपेली टोलीसँग ११ पटक खेलेको छ, जसमा १० खेल हारेको इतिहास छ । तर उनीहरूको एकमात्र जित भने संयोगवश अमेरिकामा भएको थियो, सन् १९९४ मा वासिङ्टनमा बेल्जियमलाई १-० ले हराउँदै । त्यो खेलमा साउदी खेलाडी सईद अल ओवैरणले आफ्नै मैदानबाट बल अघि बढाउँदै शानदार एकल गोल गरेका थिए, जुन विश्वकप इतिहासकै चर्चित गोलमध्ये एक मानिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै