काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको दोस्रो दिन आज उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मका सम्पूर्ण प्रक्रियाहरू गरिदैछ ।
निर्वाचन आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि निर्वाचन आयोगको सम्पर्क सचिवालयबाट उम्मेदवारी मनोनयनका लागि फारम वितरण सुरु हुनेछ भने दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।
मनोनयन दर्ता गर्दा आयोगले सभापतिमा ५१ हजार शुल्क, एक जना प्रस्तावक र ५१ जना समर्थक हुनुपर्ने तोकेको छ भने पदाधिकारीमा उम्मेदवारी दिनेले ४१ हजार शुल्क, एक प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकेको छ । त्यसैगरी केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क, एक जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्ने तोकिएको छ । त्यस्तै आयोगले उम्मेदवारी दर्ता गर्दा मनोनयन पत्रसहित, उम्मेदवारी शुल्क बुझाएको रसिद, अनुशासन कारवाहीमा नपरेको स्व-घोषणा पत्र, पार्टी सदस्यताको प्रतिलिपि र पासपोर्ट साइज फोटो २ प्रति आवश्यक हुने जानकारी दिएको छ ।
मनोनयन दर्ता सकिएलगत्तै साँझ ६ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । उक्त सूचीमा रहेका उम्मेदवारहरूविरुद्ध दाबी-विरोध गर्नका लागि साँझ ६ बजेदेखि ७ बजेसम्म एक घण्टाको समय उपलब्ध गराइनेछ । साँझ ७ बजेदेखि ९ बजेसम्म दाबी-विरोध परेका उम्मेदवारहरूमाथि आवश्यक छानबिन र जाँचबुझ गरिनेछ । जाँचबुझपछि उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरूका लागि बेलुकी ९: १५ बजेसम्मको अन्तिम समय दिइनेछ र राती ११ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
पार्टीको नयाँ नेतृत्व चयनका लागि असार ९ गते पहिलो चरणको मतदान हुने कार्यतालिका छ । पार्टी सभापति र केन्द्रीय सदस्यहरूका लागि हुने उक्त मतदान बिहानको ८: ३० बजेदेखि दिउँसोको ३ बजेसम्म सञ्चालन हुनेछ । मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको ठीक २ घण्टापछि मतगणना सुरु गरिने र लगत्तै मतपरिणामको घोषणा गरिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । यसैबीच, पहिलो चरणको मतपरिणाम आएपछि दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन कार्यतालिका पछि प्रकाशन गरिने जानकारी समेत आयोगले दिएको छ।
आयोगले यसअघि महाधिवेशनका लागि ४ हजार २१८ प्रतिनिधिको सूची सार्बजनिक गरिसको छ । त्यस्तै आइतबार महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो ।









