काठमाडौँ । लामिन यमलले विश्वकपमा पहिलो पटक सुरुआती रोजाइमा अवसर पाउँदै खेलको १०औँ मिनेटमै गोल गरेपछि स्पेनले साउदी अरेबियालाई ४-० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
समूह ‘एच’ अन्तर्गतको खेलमा स्पेनले सुरुदेखि नै दबाब बनाएको थियो । पहिलो खेलमा केप भेर्डेसँग गोलरहित बराबरी खेलेको स्पेनले यसपटक प्रभावशाली प्रदर्शन गर्दै तीन अंक हात पार्यो ।
१८ वर्षीय यमल पहिलो खेलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर त्यस खेलमा स्पेनलाई जित दिलाउन सफल नभएपछि प्रशिक्षक लुइस दे ला फुएन्तेले साउदी अरेबियाविरुद्ध उनलाई सुरुआती टोलीमा राखेका थिए । यसको प्रतिफल १०औँ मिनेटमै देखियो । मिकेल ओयार्जाबालको बायाँतर्फबाट आएको क्रसलाई साउदी अरेबियाका रक्षक हसन अल ताम्बक्तीले रोक्न नसक्दा यामालले पोस्ट नजिकबाट गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।
यससँगै यामाल विश्वकप खेलमा गोलको खाता खोल्ने १८ वर्ष वा सोभन्दा कम उमेरका दोस्रो खेलाडी बने । यसअघि सन् १९५८ मा ब्राजिलका पेलेले यो उपलब्धि हासिल गरेका थिए ।
स्पेनले त्यसपछि पनि निरन्तर आक्रमण जारी राख्यो । साउदी अरेबियाले कर्नरबाट आएको बल राम्रोसँग क्लियर गर्न नसक्दा ओयार्जाबालले गोलरक्षक मोहम्मद अल ओवैसलाई छक्याउँदै दोस्रो गोल गरेका थिए ।
त्यसको तीन मिनेटपछि उनले दानी ओल्मोको पासलाई पोस्ट नजिकबाट गोलमा परिणत गर्दै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा ओयार्जाबालले ह्याट्रिक पूरा गर्ने अवसर पाए पनि उनको प्रहार क्रसबारमा लागेर फर्किएको थियो ।
दोस्रो हाफ सुरु हुनुअघि यामाल र ओयार्जाबाललाई विश्राम दिइए पनि स्पेनको लयमा कुनै असर परेन । खेलको ४८औँ मिनेटमा मार्क कुकुरेलाको प्रहार गोलरक्षक अल ओवैसले रोके पनि बल रक्षक अल ताम्बक्तीमा लागेर जालीमा पुगेपछि स्पेनले ४-० को अग्रता बनायो ।
त्यसपछि स्पेनले खेलको गति केही कम गरेको थियो । वैकल्पिक खेलाडी फेरान टोरेसले अर्को गोल गर्ने अवसर पाए पनि उनको प्रहार लक्ष्यभन्दा बाहिरिएको थियो ।
साउदी अरेबियाका अब्दुल्लाह अल हमदानले खेल सकिन १० मिनेट बाँकी रहँदा टोलीका लागि लक्ष्यतर्फको एकमात्र प्रहार गरेका थिए । यता, इन्जुरी समयमा टोरेसले गरेको अर्को गोल भिडियो सहायक रेफ्रीको लामो परीक्षणपछि अफसाइड ठहर गर्दै रद्द गरिएको थियो ।
योजितपछि स्पेनको २ खेलमा ४ अंक भएको छ र समुह एचमा शिर्ष स्थानमा छ भने साउदी अरेबियाको २ खेलमा एक अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।
अब स्पेनले अर्को खेल जुन २७ मा उरुग्वेसँग र साउदी अरेबियाले सोहि दिन केप भार्डेसँग खेल्ने तालिका छ ।









