काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले जारी फिफा विश्वकप अन्तर्गत समूह केको दोस्रो खेलमा आज राति उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । अमेरिकाको हस्टन स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि शुरु हुदैछ ।
रोबर्टो मार्टिनेजको स्टार खेलाडीहरूले भरिएको पोर्चुगललाई यस प्रतियोगितामा उपाधि दाबेदारमध्ये एक मानिएको छ । तर पोर्चुगलले सुरुवात भने अपेक्षाअनुसार गर्न सकेन । पहिलो खेलमा उसले डीआर कंगोसँग १-१ को बराबरी खेल्यो ।
जोआओ नेभेसले छैटौं मिनेटमा गरेको गोल नै पोर्चुगलको एकमात्र प्रहारमा परेको सट रह्यो । खेलमा डीआर कंगोको तुलनामा पोर्चुगलको प्रदर्शन कमजोर देखियो । योआने विसाको बराबरी गोलपछि पोर्चुगल निराश बनेको थियो । रोनाल्डोको प्रदर्शन पनि चर्चा बाहिर रहेन । उनले गरेका तीन प्रहारमध्ये कुनै पनि सट लक्ष्यमा परेनन् । ४१ वर्षका रोनाल्डो पछिल्ला १० ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका खेलमा गोल गर्न सकेका छैनन् । पेनाल्टी बाहेकको तथ्यांक हेर्दा उनी पछिल्ला १३ खेलमा गोलविहीन छन् ।
जारी विश्वकपमा लियोनेल मेसी, किलीयन एम्बाप्पे जस्ता स्टार खेलाडीहरुले शानदार प्रदर्शन गरिरहेका बेला रोनाल्डोमाथि गोल गरेर पोर्चुगललाई जिताउने दबाब बढेको छ ।
पोर्चुगलले विश्वकप इतिहासमा पहिलो दुई खेलमा जित निकाल्न नसकेको यो दोस्रो पटक हुन सक्छ । यसअघि सन् २०१४ मा पनि उनीहरूले पहिलो खेलमा जर्मनीसँग ४-० को हार र दोस्रो खेलमा अमेरिकासँग २-२ को बराबरी खेलेका थिए ।
उता उज्बेकिस्तानले आफ्नो पहिलो विश्वकप खेलमै कोलम्बियासँग १-३ को हार व्यहोरेको छ । योसँगै उज्बेकिस्तान लगातार तीन खेलमा पराजित भएको छ । यसअघि उसले अभ्यास खेलमा क्यानडासँग ०-२ र नेदरल्यान्ड्ससँग १-२ को हार बेहोरेको थियो ।
कोलम्बियासँगको खेलमा उज्बेकिस्तानले राम्रो आक्रमण गरे पनि नतिजा आफ्नो पक्षमा पार्न सकेन । खेलमा उज्बेकिस्तानले धेरैजसो समय आफ्नै आधा मैदानमै खेल्न बाध्य भएको थियो ।
दुवै टोली पहिलो पटक विश्वकपमा आमनेसामने हुँदैछन् । एसियाली राष्ट्रसँग पोर्चुगल पछिल्ला दुई विश्वकप खेलमा जितविहीन छ भने उज्बेकिस्तानले युरोपेली टोलीसँग पछिल्ला २३ खेलमध्ये केवल एक मात्र जित निकालेको तथ्यांक छ ।









