• २०८३ असार १४ आइतबार

गुगलले भेनेजुएलामा कसरी पठाएको भूकम्पअघि अलर्ट ?

गुगलले भेनेजुएलामा कसरी पठाएको भूकम्पअघि अलर्ट ?

काठमाडौँ । दक्षिण अमेरिकी देश भेनेजुएलामा गएको ७.१ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको छ । हालसम्म कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने घाइते र बेपत्ता हजारौंमा रहेका छन् । धेरै भवन भत्किएका छन् र प्रभावित क्षेत्रमा त्रासको अवस्था छ ।

यसबीच भूकम्पसँगै अर्को विषय पनि विश्वभर चर्चा बनेको छ । धेरै एन्ड्रोइड प्रयोगकर्ताले सामाजिक सञ्जालमा आफूहरूले भूकम्पको धक्का महसुस गर्नुअघि नै गुगलबाट चेतावनी सन्देश प्राप्त गरेको दाबी गरेका छन् ।

प्रयोगकर्ताले सार्वजनिक गरेका सूचनाअनुसार मोबाइलमा ‘तपाईंबाट करिब ३४१ किलोमिटर टाढा करिब ६.२ म्याग्निच्युडको भूकम्प पत्ता लागेको छ, तुरुन्त सुरक्षित स्थानमा जानुहोस्’ भन्ने चेतावनी आएको थियो । यसले गुगलले भूकम्पको जानकारी कसरी यति छिटो पाउँछ भन्ने चासो बढाएको छ । 

प्रायः सबै एन्ड्रोइड स्मार्टफोनमा एक्सेलेरोमिटर नामक सेन्सर हुन्छ । यही सेन्सरले सामान्य अवस्थामा फोनको घुमाइ, चालचलन, खेल तथा स्वास्थ्यसम्बन्धी सुविधा सञ्चालनमा सहयोग गर्छ । तर यही सेन्सरले असामान्य कम्पनसमेत पहिचान गर्न सक्छ ।

जब कुनै एन्ड्रोइड फोनले भूकम्पसँग मिल्दोजुल्दो कम्पन महसुस गर्छ, त्यसले गुगलको भूकम्प चेतावनी प्रणालीमा संकेत पठाउछ । त्यससँगै फोन रहेको अनुमानित स्थानको जानकारी पनि पुग्छ । एउटा फोनको जानकारी मात्र पर्याप्त हुँदैन । त्यसपछि गुगलका सर्भरले हजारौँ एन्ड्रोइड उपकरणबाट प्राप्त विवरणको विश्लेषण गर्छन् । एउटै क्षेत्रमा धेरै उपकरणले एकै प्रकारको कम्पन रेकर्ड गरेमा प्रणालीले त्यसलाई सम्भावित भूकम्पका रूपमा चिन्छ र प्रभावित क्षेत्रमा रहेका मानिसलाई तत्काल चेतावनी पठाउछ ।

गुगलका अनुसार विश्वभर करिब २० अर्बभन्दा बढी एन्ड्रोइड उपकरण यो सञ्जालसँग जोडिएका छन् । यही कारण यो प्रणाली परम्परागत भूकम्प मापन केन्द्रसँग मिलेर विश्वकै सबैभन्दा ठूलो वितरित भूकम्प पहिचान प्रणाली बनेको छ । यो प्रणाली भौतिक विज्ञानको सरल सिद्धान्तमा आधारित छ । भूकम्पका क्रममा मुख्यतः दुई प्रकारका तरङ्ग उत्पन्न हुन्छन् ।

प्राथमिक तरङ्ग (पी–वेभ) सबैभन्दा पहिले करिब ६ किलोमिटर प्रतिघण्टा होइन, प्रति सेकेन्डको गतिमा फैलिन्छ । यसले सामान्य प्रारम्भिक कम्पन मात्र गराउँछ र धेरै क्षति गर्दैन । दोस्रो तरङ्ग (एस–वेभ) भने करिब ३ देखि ४ किलोमिटर प्रति सेकेन्डको गतिमा फैलिन्छ । यही तरङ्गले भवन भत्काउने र ठूलो क्षति पुर्‍याउने गर्छ ।

स्मार्टफोनको एक्सेलेरोमिटरले सबैभन्दा पहिले पुग्ने पी-वेभलाई पहिचान गरेर तुरुन्त सर्भरमा जानकारी पठाउछ । इन्टरनेटमार्फत यो सूचना प्रकाशको गतिनजिकको तीव्रतामा पुग्ने भएकाले एस-वेभ प्रभावित क्षेत्रमा पुग्नुअघि नै चेतावनी पठाउन सम्भव हुन्छ ।

उदाहरणका लागि, यदि भूकम्पको केन्द्रबिन्दु करिब ३०० देखि ३४० किलोमिटर टाढा छ भने एस-वेभ त्यहाँ पुग्न करिब एक मिनेट लाग्न सक्छ । तर गुगलको चेतावनी केही सेकेन्डमै मोबाइलमा पुग्न सक्छ । यही केही सेकेन्डले मानिसलाई टेबुलमुनि आश्रय लिन, सुरक्षित स्थानमा पुग्न वा भवनबाट बाहिर निस्कन समय दिन सक्छ ।  गुगलले जोखिमको अवस्था अनुसार दुई प्रकारका चेतावनी जारी गर्छ । ‘सतर्क रहनुहोस्’ चेतावनी सामान्य कम्पनका लागि दिइन्छ । यसमा मोबाइलमा सूचना देखिन्छ र कम्पनमार्फत प्रयोगकर्तालाई सचेत गराइन्छ ।

‘तत्काल सुरक्षित बन्नुहोस्’ चेतावनी मध्यमदेखि शक्तिशाली भूकम्पका लागि जारी गरिन्छ । यसमा मोबाइल साइलेन्ट मोडमा भए पनि ठूलो आवाजमा साइरन बज्छ र ‘भुइँमा बस्नुहोस्, टाउको जोगाउनुहोस् र बलियो वस्तु समातेर बस्नुहोस्’ भन्ने सुरक्षा निर्देशन देखाइन्छ ।

एन्ड्रोइड ५.० वा त्यसभन्दा माथिको संस्करण भएका फोनमा यो सेवा प्रयोग गर्न सकिन्छ । यसका लागि मोबाइलमा इन्टरनेट वा वाइफाइ र गुगल प्ले सेवा सक्रिय हुनुपर्छ । आफ्नो फोनमा यो सुविधा सक्रिय छ कि छैन भन्ने थाहा पाउन मोबाइलको सेटिङ, त्यसपछि सुरक्षा तथा आपत्कालीन सेवा वा स्थान सम्बन्धी मेनुमा गएर भूकम्प चेतावनी विकल्प जाँच गर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै