• २०८३ असार १४ आइतबार

विश्वकपमा समुह 'जे' का अन्तिम खेल आज बिहान, कस्तो नकआउटको समीकरण ?

विश्वकपमा समुह 'जे' का अन्तिम खेल आज बिहान, कस्तो नकआउटको समीकरण ?

काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको समूह ‘जे’ अन्तर्गत आज बिहान अन्तिम चरणका खेल हुदैछन् । नेपाली समय अनुसार ७: ४५ बजेदेखि हुने खेलमा अर्जेन्टिनाले जोर्डनसँग प्रतिस्पर्धा गर्दा अल्जेरिया र अस्ट्रिया आमने सामने हुदैछन् । दुवै खेल एकै समयमा हुने भएकाले समूहको अन्तिम समीकरण पनि त्यसैबाट तय हुनेछ ।

साबिक विजेता अर्जेन्टिनाले पहिलो खेलमा अल्जेरियालाई ३-० र दोस्रो खेलमा अस्ट्रियालाई २-० ले हराउँदै लगातार दुई जितसहित समूह विजेताको स्थान सुरक्षित गरिसकेको छ । दुई खेलमा पाँच गोल गरेको टोलीले अहिलेसम्म कुनै गोल खाएको छैन । विश्वकपमा कप्तान लियोनेल मेसी उत्कृष्ट लयमा छन् । उनले अर्जेन्टिनाका सबै पाँच गोल गरेका छन् । विश्वकपमा व्यक्तिगत गोल संख्या १८ पुर्‍याउँदै उनले मिरोस्लाभ क्लोजेलाई पछि पारेका छन् । यद्यपि लगातार खेलका कारण थकान महसुस गरेको स्वीकार गरेपछि जोर्डनविरुद्ध उनलाई आराम दिइने बताइएको छ ।

मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले नकआउट चरणलाई ध्यानमा राख्दै धेरै खेलाडीलाई अवसर दिने बताएका छन् । मेसी विश्राममा बसे निको पाज उनको स्थानमा खेल्न सक्छन् भने जुलियन अल्भारेजले लाउटारो मार्टिनेजभन्दा अघि सुरुआती टोलीमा स्थान बनाउन सक्ने सम्भावना छ । रक्षक क्रिस्टियन रोमेरो घुँडाको समस्याका कारण प्रशिक्षणमा सहभागी हुन नसकेपछि उनी पनि यो खेल गुमाउन सक्ने देखिएको छ ।

यदि मेसी मैदान उत्रिए भने उनले ३९ वर्षको उमेरमा विश्वकप खेल्ने अर्जेन्टिनाका दोस्रो खेलाडी बन्नेछन् । साथै लगातार सात विश्वकप खेलमा गोल गर्ने नयाँ कीर्तिमान बनाउने अवसर पनि उनीसँग हुनेछ ।

पहिलो पटक विश्वकप खेलेको जोर्डन दुवै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । पहिलो खेलमा अस्ट्रियासँग पराजित भएको जोर्डन दोस्रो खेलमा अल्जेरियासँग २-१ ले पराजित भएको थियो । यद्यपि प्रशिक्षक जमाल सेल्लामीले साबिक विजेताविरुद्ध राम्रो प्रदर्शन गर्दै विश्वकप यात्राको सुखद अन्त्य गर्ने लक्ष्य रहेको बताएका छन् । उनको टोलीमा कुनै खेलाडी प्रतिबन्ध वा चोटको समस्यामा छैन ।

अर्जेन्टिना र जोर्डनबीच यो पहिलो प्रतिस्पर्धात्मक भेट हुनेछ।

समूहको दोस्रो स्थानका लागि अल्जेरिया र अस्ट्रियाबीचको खेल निर्णायक हुनेछ ।

दुवै टोलीले जोर्डनलाई हराएका छन् भने अर्जेन्टिनासँग पराजित भएका छन्। अस्ट्रियासँग गोलअन्तरको फाइदा रहेकाले बराबरी पनि उसलाई अन्तिम ३२ मा पुग्न पर्याप्त हुनेछ । अल्जेरियाले भने नकआउट चरण पुग्न जित्नै पर्ने अवस्था छ ।

अल्जेरियाले पहिलो खेलमा मेसीको ह्याट्रिक सामु ३-० को हार बेहोरे पनि दोस्रो खेलमा जोर्डनविरुद्ध २-१ को पुनरागमन जित निकाल्दै आशा जीवित राखेको थियो । नाधिर बेनबोउली र अमिन गुइरीले गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । रियाद महरेज ३५ वर्षको उमेरमा विश्वकप खेल्ने अल्जेरियाका सबैभन्दा पाका खेलाडी बनेका छन् । पछिल्लो खेलमा अल्जेरियाले बल नियन्त्रण, पास, विपक्षी क्षेत्रभित्रको स्पर्श र लक्ष्यतर्फ प्रहारजस्ता धेरै तथ्याङ्कमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेको थियो ।

अर्कोतर्फ अस्ट्रियाले पहिलो खेलमा जोर्डनलाई हराए पनि दोस्रो खेलमा अर्जेन्टिनासँग २-० ले पराजित भएको थियो । कप्तान मार्सेल साबित्जर टोलीका प्रमुख खेलाडीका रूपमा रहनेछन् । प्रशिक्षक राल्फ राङनिकको नेतृत्वमा उनी अस्ट्रियाका सबैभन्दा प्रभावशाली मिडफिल्डरमध्ये एक बनेका छन् ।

अर्जेन्टिनालाई यस खेलको नतिजाले कुनै फरक पर्दैन भने जोर्डन प्रतियोगिताबाट बाहिरिसकेको छ । त्यस्तै अस्ट्रिया बराबरी वा जित भए अन्तिम ३२ मा पुग्ने छ भने अल्जेरिया नकआउट चरणमा पुग्न जित्नै पर्ने अवस्थामा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै