• २०८३ असार १५ सोमबार

भारतका सामाजिक अभियन्ता वाङचुकको दिल्लीस्थित जन्तर-मन्तरमा अनिश्चितकालीन अनशन

भारतका सामाजिक अभियन्ता वाङचुकको दिल्लीस्थित जन्तर-मन्तरमा अनिश्चितकालीन अनशन

काठमाडौँ । भारतको लद्दाखका सामाजिक अभियन्ता सोनम वाङचुकले आइतबार नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् । चिकित्सा प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट र माध्यमिक शिक्षा बोर्डसँग सम्बन्धित विवादको विरोधमा भइरहेको प्रदर्शनको नवौँ दिनमा उनले अनशन थालेका हुन् ।

गत जुन २० देखि प्रदर्शन गरिरहेको ‘ककरोच जनता पार्टी’ ले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको छ । वाङचुकले अनशन सुरु गरेसँगै जन्तर-मन्तरमा विद्यार्थी, प्रदर्शनकारी तथा विभिन्न सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति बढेको छ ।

अनशन सुरु गर्नुअघि वाङचुक र पार्टीका संस्थापक अभिजित दीपकेले राजघाट पुगेर महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रदर्शनमा किसान नेताहरूको समेत सहभागिता रहेको बताइएको छ ।

पार्टीका संस्थापक दीपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

यसअघि लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने मागसहित आन्दोलन गरिरहेका वाङचुक राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत पक्राउ परेका थिए । उनी करिब १७० दिन जोधपुर कारागारमा बसेका थिए । उनको अनशनका क्रममा २०२५ कोसेप्तेम्बर २४ गते लेहमा भएको हिंसात्मक घटनामा चार जनाको मृत्यु भएको थियो भने करिब ९० जना घाइते भएका थिए । भारतीय सरकारले उक्त हिंसा भड्काएको आरोप वाङचुकमाथि लगाएको थियो ।

हिंसापछि सेप्टेम्बर २६ मा उनलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत नियन्त्रणमा लिएर जोधपुर लगिएको थियो ।

यता, केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले गत जुन २३ दिएको एक अन्तर्वार्तामा लोकतान्त्रिक प्रक्रियाबाट अस्वीकृत भएका केही समूहले फरक रूप धारण गरेर शिक्षा प्रणालीविरुद्ध अभियान चलाइरहेको आरोप लगाएका थिए । उनले शिक्षा प्रणालीलाई जानाजानी कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यस्ता व्यक्ति वा समूहको निगरानी भइरहेको र आवश्यक कारबाही गरिने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै