काठमाडौँ । वन्यजन्तु संरक्षणसँग सम्बन्धित विभिन्न गैरसरकारी संस्थाहरूले सार्वजनिक गरेको नयाँ प्रतिवेदनमा फेसबुक विश्वभर अवैध वन्यजन्तु तस्करीको सबैभन्दा ठूलो अनलाइन बजार बनेको दाबी गरिएको छ ।
प्रतिवेदनले कमजोर सामग्री निगरानी प्रणाली र सामग्रीबाट आम्दानी गर्ने व्यवस्थाका कारण यस्तो अवैध कारोबार बढ्दै गएको आरोप लगाएको छ । अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको विश्वव्यापी पहलले गरेको अध्ययनअनुसार सन् २०२४ को अप्रिलदेखि सन् २०२६ को मार्चसम्म सामाजिक सञ्जालमा वन्यजन्तु तथा तिनका अङ्गको बिक्रीसँग सम्बन्धित २० हजारभन्दा बढी विज्ञापन र दुई लाख ६० हजारभन्दा बढी बिक्रीसम्बन्धी सामग्री फेला परेका छन् । तीमध्ये करिब ७५ प्रतिशत विज्ञापन फेसबुकमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनका अनुसार बिक्रीका लागि राखिएका करिब ८४ प्रतिशत वन्यजन्तु तथा तिनका अङ्ग अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धिअन्तर्गत व्यावसायिक कारोबारमा प्रतिबन्ध लगाइएका प्रजातिका हुन् । तीमध्ये आधाभन्दा बढी प्रजाति सङ्कटापन्न वा अति सङ्कटापन्न अवस्थामा रहेका जनाइएको छ ।
यस्ता वन्यजन्तु तथा तिनका अङ्गको विज्ञापित मूल्य कुल ६ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा पैङ्गोलिन, गैँडाको खाग, चिम्पाञ्जी तथा संरक्षित पक्षीलगायतका वन्यजन्तु र तिनका अङ्ग खुला रूपमा बिक्रीका लागि राखिएको उल्लेख गरिएको छ । अनुसन्धानकर्ताहरूले फेसबुकको विज्ञापन र सदस्यता आधारित आम्दानी प्रणालीबाट यस्ता खाता सञ्चालन गर्ने व्यक्तिले आर्थिक लाभ लिइरहेको र त्यसले अवैध तस्करीलाई थप प्रोत्साहन दिएको आरोप लगाएका छन् ।
यता मेटाले भने यी आरोपबारे विस्तृत प्रतिक्रिया दिन अस्वीकार गरेको छ । कम्पनीले आफ्नो सामाजिक सञ्जालमा सङ्कटापन्न वन्यजन्तु तथा तिनका अङ्गको बिक्री पूर्ण रूपमा प्रतिबन्धित रहेको जनाएको छ ।









