• २०८३ असार १७ बुधबार

गृह मन्त्रालयद्वारा होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर कायम गर्न गराउन ७७ वटै जिल्लामा निर्देशन

गृह मन्त्रालयद्वारा होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर कायम गर्न गराउन ७७ वटै जिल्लामा निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभर सञ्चालित होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, स्वच्छता, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितासम्बन्धी विशेष निर्देशन जारी गरेको छ ।

मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गर्दै होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइ कायम गर्न निर्देशन दिएको हो ।

होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र सरसफाइ अत्यन्त कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासो प्राप्त भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउदै नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको संरक्षण राज्यको प्राथमिक दायित्व भएकाले सरोकारवाला निकायसँग समन्वय गरी समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। गृहमन्त्रीको निर्देशनअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयलाई उच्च प्राथमिकताका साथ विभिन्न व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले होटल तथा रेष्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र खाद्य स्वच्छताको नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न अनुगमनलाई औपचारिकतामा सीमित नराखी परिणाममुखी बनाउन र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वा प्रचलित कानुन उल्लङ्घन गर्ने व्यक्ति तथा संस्थामाथि कानुनअनुसार कडा कारबाही गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकका गुनासा सहज रूपमा दर्ता गर्न सकिने हटलाइन वा द्रुत सेवा डेस्क तत्काल स्थापना गर्न र प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी तत्काल सुनुवाइ र समाधान गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले स्थानीयस्तरका समस्या प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयबाटै समाधान गर्नुपर्ने भन्दै सामान्य गुनासोका लागि समेत नागरिकले मन्त्रालय वा केन्द्रसम्म धाउनुपर्ने अवस्था अन्त्य गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको छ ।

जिल्लाको कार्यसम्पादन मन्त्रालयले प्रत्यक्ष अनुगमन गर्ने भएकाले कुनै पनि प्रकारको लापरवाही वा उदासीनता स्वीकार्य नहुने चेतावनी पनि दिइएको छ । मन्त्रालयले उक्त निर्देशनको पूर्ण कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई आग्रह गर्दै नागरिक केन्द्रित शासन व्यवस्था, बजारमा विधिको शासन र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्रभावकारी रूपमा सुनिश्चित गर्न पनि निर्देशन दिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै