• २०८३ असार १८ बिहीबार

लगानी अनुसार चीनमा रोबोटको व्यावसायिक प्रयोग विस्तार सुस्त

लगानी अनुसार चीनमा रोबोटको व्यावसायिक प्रयोग विस्तार सुस्त

काठमाडौं । चीनमा मानवजस्तै काम गर्न सक्ने रोबोटप्रतिको आकर्षण बढ्दै गए पनि यसको व्यावसायिक प्रयोग अझै अपेक्षाअनुसार विस्तार हुन सकेको छैन । बजारमा यस्ता रोबोटको माग सीमित रहे पनि चिनियाँ सरकारले आर्थिक सुस्तता र घट्दो श्रमशक्तिको विकल्पका रूपमा यस क्षेत्रमा अर्बौं डलर लगानी गरिरहेको छ ।

गत वर्ष चिनियाँ टेलिभिजनको वसन्त उत्सव कार्यक्रममा मानवजस्तै रोबोटले गरेको नृत्यबाट प्रभावित भएर हाङझाउकी ई-कमर्स प्रत्यक्ष प्रसारण सञ्चालक आई लिनले करिब ४० लाख खर्चेर पहिलो मानवजस्तै रोबोट किनेकी थिइन् । त्यसपछि उनले रोबोट भाडामा दिने व्यवसाय सुरु गरिन् ।

हाल ती रोबोट प्रदर्शनी, मेला र विभिन्न कार्यक्रममा प्रतिदिन करिब ४४३ अमेरिकी डलरमा भाडामा उपलब्ध गराइन्छ । तर लिनका अनुसार अहिलेका मानवजस्तै रोबोटले स्वतन्त्र रूपमा काम गर्न सक्दैनन् । उनका अनुसार ती ठूला आकारका खेलौनाजस्तै मात्र छन् र मानव श्रमलाई प्रतिस्थापन गर्न अझै धेरै वर्ष लाग्नेछ ।

यद्यपि, यस क्षेत्रमा चीनले ठूलो लगानी गरिरहेको छ । मोर्गन स्ट्यान्लीको अनुमानअनुसार सन् २०५० सम्म विश्वभर करिब १ अर्ब मानवजस्तै रोबोट सञ्चालनमा हुनेछन्, जसबाट ५ ट्रिलियन अमेरिकी डलरभन्दा ठूलो बजार बन्नेछ । अहिले विश्वका करिब ९० प्रतिशत मानवजस्तै रोबोट चीनमै उत्पादन भइरहेका छन् ।

सन् २०२४ सम्म चीनसँग करिब २० लाख औद्योगिक रोबोट थिए, जुन जापान, अमेरिका, दक्षिण कोरिया र जर्मनीका कुल औद्योगिक रोबोटभन्दा पनि बढी हो ।

बेइजिङ, साङ्घाई र शेनझेनजस्ता सहरमा रोबोटले ट्राफिक व्यवस्थापन, कफी र बियर पस्कने कामसमेत गरिरहेका छन् । ट्रेन्ड फोर्सका अनुसार चीनमा १४० भन्दा बढी मानवजस्तै रोबोट निर्माता कम्पनी सक्रिय छन् । तर माग कम भएकाले यो क्षेत्र ‘उद्योग बबल’ बन्न सक्ने विश्लेषण गरिएको छ । ओमिडियाका प्रमुख विश्लेषक लियन जे सूका अनुसार उदीयमान प्रविधिमा चीनको क्षमता देखाउन यो उद्योगलाई वास्तविकताभन्दा बढी प्रचार गरिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार देशभर १ लाख ५३ हजारभन्दा बढी रोबोट भाडा व्यवसाय सञ्चालनमा छन् । अग्रणी निर्माता अगिबोटले ‘सेयरबोट’ नामक भाडा सेवा सुरु गरेको छ । कम्पनीका अनुसार सन् २०२६ को अन्त्यसम्म यो बजार १.५ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरिएको छ। ग्राहकले प्रतिदिन करिब ५१७ अमेरिकी डलर तिरेर मानवजस्तै रोबोट, ढुवानी सेवा र मानव सञ्चालकसमेत प्राप्त गर्न सक्छन् ।

आठ वटा रोबोटमा लगानी गरेकी ५२ वर्षीया झाओ सियाओहोङका अनुसार प्रविधिको विकास सुस्त हुँदा र बजारमा उस्तै प्रकारका रोबोट बढ्दै जाँदा प्रारम्भिक उत्साह घट्ने र भाडादर पनि ओरालो लाग्ने अवस्था देखिएको छ।

चीनको यिजुआङ प्रविधि केन्द्रमा रोबोटले सिंह नृत्य गर्ने, बास्केटबल फाल्ने जस्ता प्रदर्शन गरिरहेका छन् । तर नजिकैको प्रशिक्षण केन्द्रमा करिब १२० मानवजस्तै रोबोटलाई मानव प्रशिक्षकले रिमोटको सहायताले डायपर फेर्ने, सामान छुट्याउनेजस्ता आधारभूत काम सिकाइरहेका छन् ।

यस्ता रोबोटलाई तालिम दिन आवश्यक मानव व्यवहारसम्बन्धी तथ्याङ्कको अभाव ठूलो समस्या बनेको छ । चिनियाँ कम्पनीहरूले आवश्यक शारीरिक अन्तरक्रियासम्बन्धी तथ्याङ्क संकलनका लागि विशेष कम्पनीलाई प्रतिघण्टा करिब २२ हजारसम्म भुक्तानी गरिरहेका छन् ।

यसका साथै साना रोबोटिक हातमा धेरै कार्य क्षमता समेट्दा ताप व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ । त्यसका कारण रोबोटको आयु छोटो हुने र उत्पादन लागत पनि उच्च रहने समस्या उद्योगले सामना गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै