काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको प्राथमिक शेयर (आइपिओ) बाँडफाँट गरिएको छ । शुक्रबार कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो ।
यस प्राथमिक शेयरमा २८ लाख १५ हजार ६७९ वटा योग्य आवेदनबाट ३ करोड १ लाख १९ हजार ८८० कित्ता शेयरको माग परेको थियो। यस्तै, ४७ हजार २३० वटा आवेदनबाट माग गरिएको ५ लाख ३५ हजार ५५० कित्ता शेयरको आवेदन भने रद्द भएको थियो।
माग अत्यधिक परेपछि गोलाप्रथा विधिबाट शेयर बाँडफाँट गरिएको छ। बाँडफाँटअनुसार एक लाख ४२ हजार ७६० जना आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
कम्पनीले सर्वसाधारणका लागि २०८३ असार ३ गतेदेखि ८ गतेसम्म १४ लाख २७ हजार ६ सय कित्ता प्राथमिक शेयर निष्कासन गरेको थियो ।
कम्पनीको जारी पुँजी ८६ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् २५ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो। कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८ लाख ६० हजार कित्ता शेयर सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो। बाँकी २० प्रतिशत अर्थात् १७ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।
सर्वसाधारणका लागि छुट्याइएको १७ लाख २० हजार कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो।
त्यस्तै, सर्वसाधारणतर्फको निष्कासनमध्ये २ प्रतिशत अर्थात् ३४ हजार ४ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी १४ लाख २७ हजार ६ सय कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
आइपिओको नतिजा सीडीएससी, मेरो सेयरको वेभसाइट तथा शेयर निष्कासन तथा बिक्री प्रबन्धकको वेभसाइटबाट हेर्न सकिन्छ ।









