काठमाडौँ । काठमाडौँ महानगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
महानगरले काठमाडौँ जिल्ला खोप समन्वय समितिका सदस्य सचिव सागरप्रसाद घिमिरेले महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोललाई पूर्ण खोप सुनिश्चित भएको प्रमाण पत्र प्रदान गरेका हुन् । समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा कार्यालयहरुलाई पूर्ण खोप सुनिश्चित वडा प्रमाण पत्र प्रदान गरेकी थिइन् ।
समारोहमा अधिकारीहरुले आगामी दिनमा कुनै पनि बालबालिकालाई खोपबाट बञ्चित हुन नदिने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए । समारोहमा स्वास्थ्य विभागका खोप फोकल पर्सन मैयाँ सैँजुलाई पूर्ण खोपका लागि योगदान दिएवापत सम्मान प्रदान गरिएको थियो । त्यस अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, खोप बालबालिकाको जन्मसिद्ध अधिकार भएको उल्लेख गर्दै आफ्ना अधिकारका बारेमा बोल्न नसक्ने बालबालिकालाई अभिभावक र सरकारले सहयोग गर्नुपर्ने बताइन् ।
पूर्ण खोप सुनिश्चित गर्न २०८२ जेठ २८ गतेदेखि स्वास्थ्य विभागले खोप लगाउनबाट छुटेका लक्षित समूहका बालबालिका खोज्ने र खोप लगाउने कार्यक्रम ‘घरधुरी सर्वेक्षण’ प्रारम्भ गरेको थियो ।
घरधुरी सर्वेक्षणबाट शून्य खोप अवस्थामा भेटिएका ६ जना र आंशिक खोप लगाएका १४९ जना बालबालिकालाई खोप प्रदान गरेपछि खोप सुनिश्चित भएको महानगरले जानकारी दिएको हो ।
काठमाडौँ महानगरपालिकाभित्र जन्मेदेखि ५ वर्षसम्मका ८९ हजार ५६ बालबालिका लक्षित समूहमा छन् । यसमध्ये घरधुरी सर्वेक्षणमा २० हजार ५१ जना बालबालिकासँग सम्पर्क भएको थियो ।
घरधुरी सर्वेक्षणमा जन्मेदेखि १५ महिनासम्मका ३५ हजार ३३२ जना बालबालिका लक्षित समूहमा थिए । यस समूहमा ४ हजार ८ सय बालबालिका भेट्टाइए । यीमध्ये ३ जनामा शुन्य डोज खोप थियो भने १६ जनाले आंशिक खोप लगाएका थिए ।
१६ महिनादेखि २३ महिनासम्मका ९ हजार १०७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणका क्रममा ३ हजार ८६८ जना बालबालिका भेटिए । जसमा १ जनामा शून्य डोज थियो । ५० जनामा आंशिक डोज थियो । २४ महिनादेखि ५ वर्षसम्मका ४४ हजार ६१७ जना बालबालिका लक्षित थिए । घरधुरी सर्वेक्षणमा ११ हजार ३८३ जना बालबालिका भेटिए । यसमा २ जनामा शून्य डोज र ८३ जनामा आंशिक डोज थियो । यसरी भेट्टाइएका बालबालिकाहरुलाई खोप प्रदान गरिएको थियो ।
२०८३ असार ३ गतेदेखि ६ गतेसम्म वडाहरुको भेरिफिकेसन गरियो । सबै वडा भेरिफिकेसन भएपछि महानगर खोप समन्वय समितिले असार ११ गते पूर्ण खोप घोषणाका लागि शिफारिस जिल्ला खोप समन्वय समितिलाई शिफारिस पठायो । जिल्ला समन्वय समितिबाट असार १५ गते महानगरपालिका पूर्ण खोप भेरिफिकेसन भयो । यसपछि काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप सुनिश्चित गरिएको हो । असार १७ गते जिल्ला खोप समन्वय समितिले काठमाडौँ महानगरपालिकालाई पूर्ण खोप घोषणा, दिगोपना प्रमाणीकरण तथा महानगर पूर्ण खोप घोषणा सभा आयोजना गर्न अनुरोध गर्यो । यसका आधारमा असार १९ गते ‘काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा सभा’ आयोजना गरिएको हो ।
भीमसेन थापाको पालामा काठमाडौँ उपत्यका र काभ्रेमा फैलिएको विफरको महामारी रोक्न खोप लगाएपछि विफर नियन्त्रण थियो । यसपछि जनताले खोप लगाएपछि महामारीबाट बच्न सकिन्छ भन्ने विश्वाश बढेको हो । त्यसपछि संक्रामक समस्या घटाउन र प्रतिरोधात्मक क्षमता बढाउन खोप कार्यक्रम सञ्चालनले नियन्तरता पाएको हो । क्रमशः खोप सेवा स्थानीय सरकारबाट प्रभावकारी रुपमा सञ्चालन भएको गौत्तमको भनाइ छ । नेपालमा २०३४ सालदेखि विस्तारित खोप कार्यक्रम सुरु भएको बताइन्छ ।
काठमाडौँलाई पहिलो पटक २०७४ साल पुस महिनामा पूर्ण खोप घोषणा गरिएको हो । खोपको दिगोपनालाई कायम राख्न यसपटक खोप सुनिश्चित घोषणा गरिएको हो ।









