• २०८३ असार २२ सोमबार

तनावपूर्ण खेलपछि एम्बाप्पेले पराग्वेका गोलकिपरसँग हात नमिलाएपछि बलले हाने !

तनावपूर्ण खेलपछि एम्बाप्पेले पराग्वेका गोलकिपरसँग हात नमिलाएपछि बलले हाने !

काठमाडौँ । जारी फिफा विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले पाराग्वेलाई १-० ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए पनि खेलपछि मैदानमा खेलाडीबीच तनावपूर्ण अवस्था सिर्जना भएको छ ।

अन्तिम सिटी बज्नासाथ दुवै टोलीका खेलाडी आमनेसामने भएका थिए । केहीबेर धकेलाधकेलसमेत भएको थियो । खेलकै क्रममा फ्रान्सका कप्तान किलियन एम्बाप्पे र पाराग्वेका गोलरक्षक ओरलान्डो गिलबीच पनि विवाद भएको थियो ।

खेलको ७०औँ मिनेटसम्म दुवै टोलीबीच कडा प्रतिस्पर्धा चलेको थियो । यस अवधिमा खेलाडीहरूबीच पटक-पटक भनाभन र सामान्य धकेलाधकेलसमेत भएको थियो । एक चरणमा एम्बाप्पे र पाराग्वेका डिएगो गोमेजबीच विवाद भएपछि दुवै टोलीका खेलाडी एकअर्कासँग जुधेका थिए । रेफ्रीले सुरुमा खेलाडीलाई छुट्याउने प्रयास गरे पनि अवस्था तनावपूर्ण बनेपछि अन्य खेलाडीसमेत घटनास्थलमा पुगेका थिए ।

पाराग्वेले बलियो रक्षात्मक खेल प्रस्तुत गर्दै फ्रान्सका आक्रमणकारी खेलाडीलाई खुला अवसर दिनबाट रोकेको थियो । तर ७०औँ मिनेटमा डिजायर डुए पेनाल्टी क्षेत्रभित्र लडाइएपछि सुरुमा खेल जारी राखिएको थियो । पछि दृश्य सहायक रेफ्रीको समीक्षा पश्चात् फ्रान्सले पेनाल्टी पायो ।

एमबाप्पेले पेनाल्टीलाई सफलतापूर्वक गोलमा परिणत गर्दै टोलीलाई १-० को जित दिलाए । यो प्रतियोगितामा उनको सातौँ तथा विश्वकप करियरको १९औँ गोल हो । यससँगै उनी सर्वाधिक गोलकर्ताको दौडमा लियोनेल मेसीको बराबरीमा पुगेका छन् ।

खेल सकिएपछि पाराग्वेका गोलरक्षक गिल एम्बाप्पेलाई बधाई दिन हात मिलाउन पुगेका थिए । तर एम्बाप्पेले प्रतिक्रिया नदिई अघि बढेपछि असन्तुष्ट बनेका गिलले रिसको आवेगमा खेलको बल उनको ढाडतर्फ फ्याँके । बल लागे पनि एम्बाप्पेले कुनै प्रतिक्रिया दिएनन् र आफ्ना टोलीसँग जितको उत्सव मनाइरहे । उक्त घटना सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । जितपछि एम्बाप्पेले खेल सजिलो नहुने आफूहरूलाई पहिले नै थाहा भएको बताए । उनले आवश्यक परे आकर्षक नभई व्यावहारिक शैलीको खेल खेल्न पनि आफूहरू तयार रहेको उल्लेख गर्दै फुटबलमा जित नै सबैभन्दा महत्वपूर्ण हुने प्रतिक्रिया दिए ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पले पनि दक्षिण अमेरिकी टोलीविरुद्ध खेल्नु सधैं कठिन हुने बताउँदै पाराग्वेले पूरै खेलभरि आफ्नो टोलीको लय बिगार्ने प्रयास गरेको स्वीकार गरे ।

यता, खेलपछि गोलरक्षक गिलले आफ्नो व्यवहारप्रति दुःख व्यक्त गरेका छन् । उनले एम्बाप्पेलाई बधाई दिन खोज्दा आफूलाई बेवास्ता गरिएको महसुस भएकाले आवेगमा बल फ्याँकेको बताए । साथै, फ्रान्सले पेनाल्टी नपाएको भए खेलको नतिजा फरक हुन सक्ने दाबी पनि गरे ।

अब फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ भने पाराग्वेको विश्वकप यात्रा अन्तिम १६ बाटै समाप्त भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै