कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका ३ बोराडाँडी चोकमा भारतीय नम्बर प्लेटको कारको ठक्करबाट मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ ।
धनगढी चौराहाबाट अत्तरियातर्फ जाँदै गरेको से ४ प ९५२ नम्बरको मोटरसाइकललाई यूपी ६५ इएक्स ०१०० नम्बरको भारतीय कारले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार बैतडीको सिगास गाउँपालिका १ गजकोट निवासी ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भई उपचारका लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि फरार भएका कार चालक भारतको उत्तर प्रदेश, वाराणसी बस्ने ४२ वर्षीय अश्वनी कुमार सिंहलाई कारसहित जिल्ला कैलाली, गोदावरी नगरपालिका ६ लालपुरबाट पक्राउ गरिएको छ ।
मोटरसाइकल चालक गौतम ऐरको सीपी अस्पताल धनगढीमा उपचार भईरहेको र अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।









